काठमाडौं, असोज १६ गते ।
संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा विभिन्न विधेयकलाई सम्बन्धित समितिमा पठाउनेदेखि वार्षिक प्रतिवेदन पेस गर्ने र एउटा विधेयक पारित गर्ने कार्यसूची रहेको छ ।
बैठकको सुरुवातमा सभामा प्रस्तुत हुन नसकेका मौखिक तथा लिखित प्रश्नका जवाफ सम्बन्धित मन्त्रीले टेबुल गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३’ पेस गर्नेछिन् ।
त्यसपछि गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ तथा ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ लाई समितिमा पठाउने प्रस्ताव राख्ने कार्यसूची छ ।
त्यसैगरी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले आफ्नो मन्त्रालयसँग सम्बन्धित केही नेपाल ऐन संशोधन गर्ने विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले भने स्वास्थ्य क्षेत्रसँग सम्बन्धित चारवटा विधेयक समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ। तीमध्ये आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री वितरण नियन्त्रण, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा र रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक रहेका छन् ।
आजको बैठकमा ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी पहिलो संशोधन विधेयक, २०८३’ पारित गर्ने कार्यसूचीसमेत राखिएको छ ।
बैठकमा सभामुख डोलप्रसाद अर्यालले १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित सांसदहरूले पठाएका अनुपस्थितिसम्बन्धी सूचना सभाको स्वीकृतिका लागि पेस गर्नेछन्। साथै, राष्ट्रपतिबाट प्राप्त पत्र सभामुखले पढेर सुनाउने कार्यक्रम रहेको छ ।

