गाैशाला, असाेज १५ गते ।
मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको मृत्यु भएको घटनासँग सम्बन्धित मुद्दामा महोत्तरीका चार जना प्रतिवादी सर्वोच्च अदालतमा उपस्थित भएका छन् ।
प्रदेशसभा सदस्य अभिराम शर्मा, जलेश्वर नगरपालिकाका पूर्वनगरप्रमुख रामशंकर मिश्र ‘साही’, सुरेश पाण्डे र धर्मेन्द्र राय सर्वोच्च अदालतमा स्वयं उपस्थित भएका हुन् । उनीहरूको उपस्थितिपछि सर्वोच्चले चारै जनालाई साधारण तारिखमा राख्ने आदेश दिएको छ ।
थमन विक मृत्यु प्रकरणमा लामो समयदेखि जिल्ला तथा उच्च अदालतमा कानुनी प्रक्रिया चल्दै आएको थियो। पछिल्लो घटनाक्रमसँगै मुद्दा सर्वोच्च अदालतको तहमा पुगेको हो ।
२०७२ भदौ २५ गते मधेस आन्दोलनका क्रममा महोत्तरीमा घाइते भएका सशस्त्र प्रहरीका असई विकलाई उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो। सोही घटनालाई लिएर विभिन्न व्यक्तिविरुद्ध ज्यानसम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो ।
महोत्तरी जिल्ला अदालतले यस मुद्दामा अभिराम शर्मासहित सात जनालाई जन्मकैदको फैसला सुनाएको थियो। उक्त फैसलाविरुद्ध परेको पुनरावेदनमा उच्च अदालत जनकपुरले जिल्ला अदालतको फैसला केही परिवर्तन गरेको थियो ।
उच्च अदालतले अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र ‘साही’ र सुरेश पाण्डेसहित छ जनालाई जनही पाँच वर्ष कैदको फैसला गरेको थियो भने तीन जनाको जन्मकैद कायम राखेको थियो ।
उच्च अदालतको फैसलामा थमन विकमाथि प्रत्यक्ष रूपमा प्रहार गरेको देखिने वस्तुगत प्रमाण नदेखिएको उल्लेख भए पनि अनुसन्धानका क्रममा प्राप्त बयानलगायत प्रमाणका आधारमा प्रतिवादीहरूलाई ज्यानसम्बन्धी कसुरमा दोषी ठहर गरिएको थियो ।
यता अभिराम शर्मासहितका प्रतिवादीले भने आफूहरूलाई मधेस आन्दोलनको राजनीतिक पृष्ठभूमिका कारण मुद्दामा जोडिएको दाबी गर्दै आएका छन्। उनीहरूले आन्दोलनको राजनीतिक नेतृत्व गर्नु र आपराधिक घटनामा प्रत्यक्ष संलग्न हुनु फरक विषय भएको बताउँदै आएका छन् ।
सर्वोच्च अदालतमा मुद्दाको प्रक्रिया अघि बढेसँगै अब उक्त प्रकरणको कानुनी निरूपण सर्वोच्चबाट हुने प्रक्रियामा गएको छ। चारै प्रतिवादी साधारण तारिखमा रहेर मुद्दाको आगामी सुनुवाइ तथा कानुनी प्रक्रियामा सहभागी हुनेछन् ।

