जनकपुरधाम, असोज १६ गते ।
पुत्रको दीर्घायु, सुस्वास्थ्य तथा सुख–समृद्धिको कामना गर्दै मिथिलाञ्चलसहित तराई–मधेसमा मनाइने महत्वपूर्ण लोकपर्व जितिया शुक्रबारदेखि सुरु भएको छ ।

तीन दिनसम्म मनाइने पर्वको पहिलो दिन व्रतालु महिलाले ‘नहाय खाय’ विधि सुरु गरेका छन्। यस अवसरमा जनकपुरधामस्थित पवित्र गंगासागरमा बिहानैदेखि श्रद्धालुको भीड लागेको थियो। श्रद्धालुहरूले सरोवरमा स्नान गरी जिमुतवाहनलाई तेल र खरी अर्पण गर्दै पर्वको धार्मिक विधि प्रारम्भ गरेका छन् ।

जितिया पर्वमा माताहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य र कल्याणको कामना गर्दै कठोर व्रत बस्ने परम्परा छ। मिथिलाञ्चलका साथै थारू समुदायमा पनि यस पर्वको विशेष धार्मिक तथा सांस्कृतिक महत्व रहेको छ ।

पर्वको पहिलो दिन स्नान गरी चोखो भएर पूजा गर्ने र परम्परागत परिकार खाने चलन छ। ‘नहाय खाय’का क्रममा च्यूरा, दहीलगायतका परिकारसँगै माछ र मरुवा अर्थात् कोदो खाने परम्परा रहेको संस्कृतिविद्हरू बताउँछन् ।

जितिया पर्व पितृ पक्षसँग पनि जोडिएको छ। यस अवधिमा पुरुषहरूले आफ्ना पितृलाई जल अर्पण गर्दै सोह्र श्राद्ध गर्ने परम्परा रहे पनि महिलाहरूले ‘पितराइन’ खुवाउने चलन रहेको बताइन्छ। सासुआमा दिवंगत भएका महिलाले उहाँको नाममा अन्य महिलालाई भोजन गराउने परम्परासमेत रहेको छ ।

पर्वको मुख्य दिन अष्टमी तिथिमा व्रतालु महिलाले निर्जला उपवास बस्ने गर्छन्। धार्मिक मान्यताअनुसार यस दिन थुकसमेत ननिल्ने गरी कठोर व्रत बस्ने परम्परा छ। उदयकालमा अष्टमी पर्ने दिनलाई मुख्य व्रतको दिन मानिन्छ ।

मुख्य व्रतका क्रममा व्रतालु महिलाले जिमुतवाहनको पूजा तथा कथा श्रवण गर्ने गर्छन्। साथै सन्तानको टाउकोमा तेल–खरी लगाउने धार्मिक तथा सांस्कृतिक प्रचलनसमेत रहेको छ ।

अष्टमीको व्रतपछि भोलिपल्ट नवमी तिथिमा धार्मिक विधिअनुसार व्रत पारण गर्ने परम्परा छ। यससँगै तीनदिने जितिया पर्वको समापन हुन्छ ।

मिथिला र थारू समुदायमा पुस्तौँदेखि मनाइँदै आएको जितिया पर्व मातृत्वको भावना, पारिवारिक आस्था र मौलिक सांस्कृतिक परम्परासँग जोडिएको महत्वपूर्ण लोकपर्वका रूपमा स्थापित छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार