बर्दिवास: मधेसको ‘कैलाश’ टुटेश्वरका प्रवर्द्धक बासुदेव महतो ७४औँ वर्षमा प्रवेश गरेका छन्। विगत ६ दशकदेखि टुटेश्वरनाथ महादेव मन्दिर क्षेत्रको प्रचार–प्रसार तथा साउने बोलबम मेलामा निरन्तर योगदान पुर्याउँदै आएका महतोले जीवन रहेसम्म टुटेश्वरधामको प्रचार–प्रसारमा लागिरहने बताएका छन्।
बर्दिबास नगरपालिका–३ स्थित महतोको निवासमा शुभचिन्तकहरूले केक काटेर उनको जन्मदिन मनाउँदै खुसी साटासाट गरेका थिए।
महतोले हालै ‘डण्डीबम’ यात्राबाट पनि सन्यास लिएका छन्। ७३ वर्षको उमेरमा गत साउनमा उनले १६ किलोमिटर लामो बाटो डण्डीबम यात्रा गर्दै ३५औँ पटक टुटेश्वरनाथ महादेवलाई जल अर्पण गरेका थिए। त्यससँगै उनले डण्डीबम यात्राबाट सन्यास लिएका हुन्।
झण्डै ६ दशक लामो धार्मिक अभियानमार्फत महतोले मधेसको ‘कैलाश’का रूपमा परिचित टुटेश्वरधाममा नेपाल तथा भारतबाट लाखौँ भक्तजनलाई आकर्षित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
गौशाला नगरपालिका–४, रजखोर, महोत्तरी निवासी महतोले वि.सं. २०२४ सालदेखि साउने बोलबम मेलाको संयोजन गर्दै आएका छन्। साथै, भजन–कीर्तनलगायत धार्मिक कार्यक्रम सञ्चालन गर्दै टुटेश्वरधामको धार्मिक महत्व उजागर गर्न उनले निरन्तर योगदान पुर्याउँदै आएका छन् ।

