काठमाडौं: गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा सिनियर डिभिजनल इन्जिनियर सचिन्द्रकुमार यादवलाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको छ ।

विशेष अदालतले २०८२ चैत ८ गते यादवलाई सफाइ दिने फैसला गरेको थियो । उक्त फैसलामा चित्त नबुझेपछि आयोगले शुक्रबार असोज १६ गते सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरेको हो। आयोगका प्रवक्ता सुरेश न्यौपानेले विज्ञप्तिमार्फत पुनरावेदन दायर गरिएको जानकारी दिएका छन् ।

आयोगका अनुसार पर्यटन विभाग, भृकुटीमण्डपमा कार्यरत यादवले सार्वजनिक पदको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा ९६ लाख ८५ हजार ५ सय ५३ रुपैयाँ १९ पैसा बिगो कायम गरी विशेष अदालतमा आरोपपत्र दायर गरिएको थियो ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको आरोप लगाउँदै सोही दफाको उपदफा (२) अनुसार कैद, बिगोबमोजिम जरिवाना तथा गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्ति जफत गर्न माग गरेको थियो ।

त्यसैगरी, ऐनको दफा १६ को उपदफा (२) बमोजिम कैद तथा जरिवाना र लुकाइछिपाइ राखिएको सम्पत्ति जफत गर्नसमेत आयोगले माग गरेको जनाएको छ ।

आयोगले यादवले आफ्नी पत्नी आशाकुमारी यादवको नाममा समेत घरजग्गा खरिद गरी सम्पत्ति राखेको आरोप लगाएको थियो। सोही आधारमा आशाकुमारीलाई पनि प्रतिवादी बनाइएको थियो। आयोगका अनुसार उनलाई भने उक्त सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको थियो ।

विशेष अदालतले यादवलाई सफाइ दिएपछि आयोगले उक्त फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो। अब उक्त विषयमा सर्वोच्च अदालतबाट हुने सुनुवाइपछि मुद्दाको अन्तिम कानुनी टुंगो लाग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार