गाैशाला: महोत्तरीको गौशाला नगरपालिका–निगौल चोकस्थित एक मिलमा विद्युत् सर्ट भएर आगलागी हुँदा करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

शुक्रबार राति करिब १० बजेको समयमा दुर्गा स मिलमा अचानक आगलागी भएको हो। विद्युत् सर्टपछि सुरु भएको आगो केही समयमै मिलको विभिन्न भागमा फैलिएको र मिलभित्र रहेका मेसिन, काठ, चक्का लगायतका सामग्री जलेर नष्ट भएको सञ्चालक गणेश मण्डलले जानकारी दिए ।

आगो नियन्त्रणका लागि गौशाला, सम्सी, औरही र रामगोपालपुर लगायतका स्थानीय तहबाट वारुणयन्त्र घटनास्थलमा परिचालन गरिएको थियो। स्थानीय बासिन्दा, दमकल टोली तथा सम्बन्धित निकायको संयुक्त प्रयासपछि आगो नियन्त्रणमा लिइएको जनाइएको छ ।

आगलागीबाट मिलको संरचनासहित ठूलो परिमाणमा भौतिक सामग्रीमा क्षति पुगेको भए पनि मानवीय क्षति भने नभएको बताइएको छ। प्रारम्भिक रूपमा विद्युत् सर्टलाई आगलागीको कारण मानिए पनि घटनाको विस्तृत अनुसन्धान तथा क्षतिको आधिकारिक मूल्याङ्कन हुन बाँकी रहेको जनाइएको छ ।

घटनापछि स्थानीय व्यवसायी तथा बासिन्दाले मिल, उद्योग र अन्य व्यावसायिक प्रतिष्ठानमा विद्युत् प्रणालीको नियमित परीक्षणसँगै आगलागी नियन्त्रणका आवश्यक उपकरणको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। साथै, आगलागीका घटना नियन्त्रणका लागि स्थानीय तहका वारुणयन्त्रलाई थप व्यवस्थित र तयारी अवस्थामा राख्नुपर्ने आवाजसमेत उठेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार