भक्तपुर: एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको एकाइ १ अन्तर्गतको साधारणसभा शनिबार भक्तपुरको लोकन्थलीस्थित दिव्येश्वरी पार्टी प्यालेसमा भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष भूमिराज खड्काको सभापतित्वमा सम्पन्न साधारणसभामा संस्थाका संस्थापक उपाध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डी.बी. बस्नेत प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।

साधारणसभामा संस्थाको समग्र प्रगति, आर्थिक अवस्था, संस्थागत गतिविधि तथा आगामी कार्ययोजनाका विषयमा विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा सञ्चालक समितिको प्रतिवेदन तथा आगामी कार्ययोजनासम्बन्धी प्रतिवेदन संस्थाका सचिव केशवकुमार कार्कीले प्रस्तुत गर्नुभएको थियो ।

त्यसैगरी, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संस्थाका व्यवसाय विभाग प्रमुख निर्मलकुमार कार्कीले प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत प्रतिवेदनमाथि बन्द सत्रमा छलफल गर्दै संस्थाको भावी कार्यदिशा, वित्तीय अनुशासन, पारदर्शिता, सुशासन तथा सदस्यहरूको हित संरक्षणका विषयलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

साधारणसभाका अवसरमा गत वर्षको एसईई तथा कक्षा १२ को परीक्षामा ‘ए’ र ‘ए प्लस’ ग्रेड हासिल गर्न सफल संस्थाका बाल बचतकर्ता तथा शेयर सदस्यका विद्यार्थीलाई सम्मानसमेत गरिएको थियो। विद्यार्थीहरूको शैक्षिक उपलब्धिको उच्च मूल्याङ्कन गर्दै उनीहरूलाई मायाको चिनो र नगदसहित सम्मान गरिएको हो ।

काठमाडौं क्षेत्रबाट मात्रै एसईई तथा कक्षा १२ मा उत्कृष्ट नतिजा हासिल गर्ने ४२ जना विद्यार्थी उक्त सम्मानबाट सम्मानित भएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि डी.बी. बस्नेतले संस्थाको स्थापनाकालदेखि हालसम्मको यात्रा, संस्थागत विकास तथा सहकारी अभियानमा सदस्यहरूको भूमिका र योगदानबारे चर्चा गर्नुभएको थियो। उहाँले सहकारी संस्थाको विकास र सफलता सदस्यहरूको विश्वास, सहभागिता र सहकार्यसँग जोडिएको बताउनुभयो ।

सभापति एवं संस्थाका अध्यक्ष भूमिराज खड्काले संस्थाको दिगो विकास, सदस्यहरूको विश्वास अभिवृद्धि तथा सहकारीका मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात् गर्दै संस्था अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले साधारणसभामा उपस्थित शेयर सदस्य, अतिथि तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै संस्थाको आगामी यात्रामा सबैको निरन्तर साथ र सहयोगको अपेक्षा गर्नुभयो ।

‘एकता, विश्वास र सहकार्य, समृद्धिको आधार’ भन्ने मूल भावका साथ सम्पन्न कार्यक्रममा संस्थाका सञ्चालक समिति सदस्य एवं काठमाडौं सेवा केन्द्र समिति संयोजक देवबहादुर श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन संस्थाका कायममुकायम प्रमुख कार्यकारी अधिकृत रामबहादुर खत्रीले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार