धरान: धरानका सामुदायिक विद्यालयमा शिक्षक पदपूर्ति र दरबन्दी व्यवस्थापनको विषय अहिले विवाद, आन्दोलन र फिनाइल सेवनको घटनासम्म पुगेको छ । धरान–११ स्थित ज्ञानोदय माध्यमिक विद्यालय र धरान–६ को सरस्वती माध्यमिक विद्यालयमा शिक्षकको माग गर्दै भएको आन्दोलनका क्रममा असोज ९ गते रोजन शङ्करले फिनाइल सेवन गरेपछि घटनाले थप गम्भीर रूप लिएको हो ।

घटनाको सतहमा विद्यार्थी तथा आन्दोलनरत पक्ष देखिए पनि यसको पृष्ठभूमि भने लामो समयदेखि थाती रहेको शिक्षक व्यवस्थापन, विद्यालय प्रशासन, स्थानीय सरकार र राजनीतिक हस्तक्षेपसँग जोडिएको देखिन्छ ।

नेपालको संविधानले आधारभूत तथा माध्यमिक शिक्षाको अधिकार स्थानीय तहलाई दिएको छ। सामुदायिक विद्यालयमा शिक्षक व्यवस्थापन, दरबन्दी मिलान तथा पदपूर्तिसहितका विषयमा स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुन्छ। वरिष्ठ अधिवक्ता भोजराज श्रेष्ठका अनुसार संविधानले स्थानीय तहलाई शिक्षासम्बन्धी पर्याप्त अधिकार दिएको छ। तर, व्यवहारमा स्थानीय तहले बनाएका कानुन तथा संयन्त्रमा स्वार्थ जोडिने गरेको उनको भनाइ छ ।

धरान–११ स्थित ज्ञानोदय माविमा तत्कालीन उच्च माध्यमिक तहमा नेपाली विषयको शिक्षक अभाव भएको करिब तीन वर्ष पुग्न लागेको बताइएको छ। लामो समयसम्म पदपूर्ति हुन नसक्नुमा स्थानीय तहबाट दरबन्दी व्यवस्थापन तथा समाधानका लागि प्रभावकारी पहल हुन नसकेको आरोप लाग्दै आएको छ ।

पटक–पटक विज्ञापन, तर पदपूर्ति भएन
शिक्षक अभाव समाधान गर्न ज्ञानोदय माविले २०८२ पुस १७ गते नेपाली, अंग्रेजी र लेखा विषयका लागि विज्ञापन आह्वान गरेको थियो। उक्त विज्ञापनपछि विवाद उत्पन्न भएर विषय अदालतसम्म पुगेको र सो प्रक्रियाबाट पदपूर्ति हुन नसकेको बताइएको छ ।

त्यसपछि २०८३ असार २२ गते पुनः सोही दरबन्दीका लागि विज्ञापन गरियो। नेपाली विषयमा १५ जना, लेखामा २१ जना र अंग्रेजीमा करिब १० जनाले आवेदन दिए। साउन १६ गते परीक्षा सञ्चालन गर्ने तयारी गरिएको थियो ।

तर परीक्षा सुरु हुनुभन्दा अघिल्लो रात नेपाली विषयको परीक्षा स्थगित भएको जानकारी परीक्षार्थीलाई तत्कालीन प्रधानाध्यापक अमर चेम्जोङले गराएको बताइएको छ।
परीक्षा स्थगित हुनुको कारणका रूपमा सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनापछि प्रशासनले लगाएको निषेधाज्ञालाई देखाइएको थियो। तर, परीक्षा स्थगित हुनुमा विषयविज्ञ छनोटसँग सम्बन्धित विषयसमेत जोडिएको दाबी गरिएको छ ।

परीक्षाका लागि विषयविज्ञ आवश्यक पर्ने भएकाले प्रधानाध्यापक चेम्जोङ महेन्द्र बहुमुखी क्याम्पस पुगेका थिए। क्याम्पस प्रमुख चन्द्रकुमार राईका अनुसार प्राप्त पत्र नेपाली विभागमा पठाइएपछि दुई जना विषयविज्ञको नाम तयार गरिएको थियो। उक्त पत्र प्रधानाध्यापक चेम्जोङले नै सोही दिन लिएर गएको उनको भनाइ छ ।

तर, त्यसपछि नेपाली विषयको परीक्षा सञ्चालन भएन । भोलिपल्ट अंग्रेजी र लेखाको परीक्षा मात्रै सञ्चालन भयो। नेपाली विषयको परीक्षा किन रोकियो भन्ने विषयमा स्थानीय तहबाट स्पष्ट कारण सार्वजनिक नभएको प्रश्नसमेत उठेको छ ।

लेखा शिक्षक छनोट विवादले थप जटिलता
यसैबीच लेखा विषयको शिक्षक छनोटमा तत्कालीन प्रधानाध्यापक चेम्जोङले आफ्नै श्रीमती तृष्णा लिम्बूलाई छनोट गरेको भन्दै वैकल्पिक उम्मेदवार दीपा भट्टराईले उजुरी दिएको बताइएको छ। विवादका कारण उक्त पदसमेत रिक्त रहेको जनाइएको छ ।

यही घटनाक्रमपछि कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघाले आफ्नो अधिकार प्रयोग गर्दै ज्ञानोदय माविका प्रधानाध्यापकको जिम्मेवारी परिवर्तन गरेको र अंग्रेजी विषयका शिक्षक ऋद्धिबहादुर राईलाई काजमा खटाएको बताइएको छ ।

शिक्षक काजमा खटाइएपछि भने विद्यालयमा असन्तुष्टि बढ्दै गयो। विद्यार्थीले आफूहरूलाई पढाइमा सहयोग गर्दै आएका शिक्षकलाई अचानक हटाइएको भन्दै आन्दोलन सुरु गरे। आन्दोलन क्रमशः नगरपालिकासम्म पुग्यो ।

विद्यार्थी तथा आन्दोलनरत पक्षले धरान उपमहानगरपालिकामा घेराउ गर्नुका साथै नगर प्रमुखको कार्यकक्षमा तालाबन्दीसमेत गरे। पछि उनीहरू अनसनमा बसे ।

आन्दोलनमा जोडिए रोजन शङ्कर
यही क्रममा आफूलाई बालअधिकारकर्मीका रूपमा चिनाउँदै आएका रोजन शङ्कर आन्दोलनमा जोडिएका थिए। उनी ज्ञानोदय वा सरस्वती माविका विद्यार्थी भने नरहेको बताइएको छ ।

अनसनकै क्रममा असोज ९ गते उनले फिनाइल सेवन गरेपछि घटनाले थप संवेदनशील मोड लियो। त्यसपछि फिनाइल कसले ल्यायो भन्ने विषयमा समेत अनुसन्धान तथा आरोप–प्रत्यारोप सुरु भयो ।

धरान उपमहानगरपालिकाको सीसीटीभी फुटेजका आधारमा रोजनका लागि फिनाइल ल्याइदिएको व्यक्ति सौगात विक रहेको दाबी गरिएको छ। कार्यवाहक नगर प्रमुख बेघाले सोधपुछ गर्दा विकले आफूलाई सञ्जिता धमलाले दिएको बताएको भनाइ सार्वजनिक भएको छ ।

तर, धमलाले भने आफूलाई नियोजित रूपमा घटनामा जोडिएको दाबी गरेकी छन्। उनले आफूले फिनाइल दिएको प्रमाणित भए कारबाही भोग्न तयार रहेको बताउँदै घटनाबारे आफ्नो नाम जोडिनु भ्रामक भएको प्रतिक्रिया दिएकी छन्।
उनका अनुसार सौगातले समेत आफूलाई पछि माफी माग्दै गल्ती भएको स्वीकार गरेको दाबी गरेकी छन् ।

राजनीतिक नेतृत्वमाथि पनि प्रश्न
घटनामा राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ गोमा (सरिन) तामाङको भूमिकालाई लिएर पनि सामाजिक सञ्जालमा चर्चा भएको छ। तामाङले सामाजिक सञ्जालमार्फत विद्यालयमा लामो समयदेखि समस्या रहनु, शिक्षक नियुक्तिमा चासो र राजनीतिक स्वार्थ जोडिनु तथा समस्या समाधान हुन नसक्नुका विषयमा प्रश्न उठाएकी छन् ।

आन्दोलनरत विद्यार्थीहरू लामो समयदेखि पालिकामा भोकै बसेको जानकारी पाएपछि आफू त्यहाँ पुगेको र त्यसलाई लिएर विवादमा तानिएको उनको भनाइ छ ।

पछि रोजन शङ्करलाई कार्यवाहक नगर प्रमुख बेघाले जुस पिलाएर अनसन अन्त्य गराएको बताइएको छ। त्यसपछि तामाङले सामाजिक सञ्जालमार्फत विद्यार्थीहरूको माग पूरा भएको उल्लेख गर्दै घटनामा आफ्नो भूमिकालाई लिएर उठेका प्रश्नको जवाफ दिनुपर्ने आशय व्यक्त गरेकी छन् ।

‘समस्या तीन वर्ष तन्किनुमा धेरै पक्ष जिम्मेवार’
शिक्षासेवी डा. राजेन्द्र शर्माले ज्ञानोदयको शिक्षक समस्या लामो समयसम्म समाधान हुन नसक्नुमा राजनीतिक दलबीचको खिचातानी र आफ्नो पक्षको व्यक्ति नियुक्त गर्न खोज्ने प्रवृत्ति मुख्य कारणमध्ये रहेको बताएका छन्।
उनका अनुसार समस्याको जिम्मेवारी स्थानीय सरकार तथा शिक्षा प्रशासनले लिनुपर्ने भए पनि दोष एउटै पक्षलाई मात्र दिन मिल्दैन ।

“दोषी त स्थानीय सरकार हो, शिक्षा प्रशासन नै हो। तर दोषको भागी शिक्षा प्रशासनलाई मात्रै नदिई मैले तीनवटा कारण देखेको छु,” शर्माले भनेका छन्, “एउटा लहडमा चल्ने नेतृत्व, खिचातानी गर्ने राजनीतिक दल र बेवास्ता गर्ने अभिभावकका कारण यो समस्या सिर्जना भएको हो।”

लामो समयदेखि शिक्षक अभाव रहेको विद्यालयमा पदपूर्ति प्रक्रियाले निकास पाउन नसक्नु, परीक्षा सञ्चालनमा विवाद उत्पन्न हुनु, शिक्षक काजमा खटाइनु र त्यसपछि विद्यार्थी आन्दोलन हुँदै फिनाइल सेवनको घटनासम्म पुग्नुले धरानको शिक्षा व्यवस्थापनमाथि नै गम्भीर प्रश्न खडा गरेको छ ।

अब विवादको केन्द्रमा रहेको शिक्षक पदपूर्ति प्रक्रिया, परीक्षा स्थगनको वास्तविक कारण, शिक्षक काजमा खटाउने निर्णय तथा फिनाइल घटनाबारे निष्पक्ष छानबिनमार्फत तथ्य सार्वजनिक गर्नुपर्ने आवाज उठ्न थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार