काठमाडौं: सभामुख डोलप्रसाद (डिपी) अर्याल अन्तर व्यवस्थापिका संघ (आइपियु) को १५३ औँ महासभामा सहभागी हुन संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तान्जानियातर्फ प्रस्थान गरेका छन् ।

सभामुख अर्याल आइतबार साँझ ७ बजे कतार एयरवेजको उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तान्जानियातर्फ प्रस्थान गरेका हुन्। सभामुखको निजी सचिवालयका अनुसार प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी अम्बिका केसी, प्रतिनिधिसभा सदस्य रविन महतो तथा राष्ट्रियसभा सदस्यहरू झक्कुप्रसाद सुवेदी र अञ्जान शाक्य सहभागी छन् ।

त्यस्तै प्रतिनिधिमण्डलमा प्रतिनिधिसभाका महासचिव पद्मप्रसाद पाण्डे, सचिव प्रकाश अधिकारी, सहसचिव रेखा उपाध्याय खनाल र सभामुखका निजी सचिव मधु मिजार पनि रहेका छन् ।

तान्जानियाको अरुषा सहरमा अक्टोबर ५ देखि ९ तारिखसम्म अर्थात् १९ देखि २३ असोज २०८३ सम्म आइपियुको १५३ औँ महासभा आयोजना हुँदैछ। महासभामा विश्वका विभिन्न मुलुकका संसद्का प्रतिनिधिहरू सहभागी हुनेछन्। महासभाका क्रममा स्थायी समितिका बैठक, गभर्निङ काउन्सिलको बैठक, महासभा, विषयगत छलफल तथा विभिन्न मुलुकका संसदीय प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम छ ।

महासभाको पहिलो दिन सोमबार प्रतिनिधिमण्डलका सल्लाहकार तथा सचिवहरूको बैठकसँगै एसिया प्रशान्त समूहको बैठक र महिला सांसदहरूको मञ्चका कार्यक्रम हुनेछन्। सोही दिन थाइल्यान्डको राष्ट्रियसभाको माथिल्लो सदनका सभामुख मोंगकोल सुरसज्जाको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलसँग सभामुख अर्यालले द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

त्यसैगरी अस्ट्रेलियाको प्रतिनिधिसभाका सभामुख मिल्टन डिकको नेतृत्वको प्रतिनिधिमण्डल तथा चीनको राष्ट्रिय जनकङ्ग्रेसअन्तर्गत शिक्षा, विज्ञान, संस्कृति तथा जनस्वास्थ्य समितिका उपाध्यक्ष तियान सुएजुन नेतृत्वको प्रतिनिधिमण्डलसँग पनि भेटवार्ता हुनेछ। सोही दिन १५३औँ महासभाको औपचारिक उद्घाटन गरिनेछ ।

अक्टोबर ६ मा प्रतिनिधिमण्डलले गभर्निङ काउन्सिलको बैठकमा सहभागिता जनाउनेछ। बेलायतको हाउस अफ कमन्सका सभामुख सर लिन्डसे होयलको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलसँग पनि द्विपक्षीय भेटवार्ता हुनेछ ।

यसै दिन लोकतन्त्र तथा मानव अधिकारसम्बन्धी स्थायी समितिमा अपांगता भएका व्यक्तिको अधिकार र सशक्तीकरणका लागि संसदीय रणनीतिसम्बन्धी मस्यौदा प्रस्तावमाथि छलफल हुनेछ। शान्ति तथा अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी स्थायी समितिमा सैन्य क्षेत्रमा कृत्रिम बुद्धिमत्ताको प्रयोगबाट उत्पन्न चुनौती, शान्ति सुरक्षामा संसद्को भूमिका तथा संसदीय कूटनीति, मध्यस्थता र संवादमार्फत दिगो शान्ति स्थापनाबारे छलफल हुनेछ ।

महासभाको सामान्य छलफल पनि यही दिनदेखि सुरु हुनेछ। ‘समावेशिता, विश्वास र सबैका लागि अवसरमार्फत सुशासन अभिवृद्धि तथा समुदायको सशक्तीकरण’ विषयमा छलफल हुनेछ। साँझ तान्जानियामा रहेका नेपाली समुदायसँग अन्तरक्रियाको कार्यक्रमसमेत राखिएको छ ।

अक्टोबर ७ मा महासभाको सामान्य छलफल निरन्तर चल्नेछ। संयुक्त राष्ट्रसंघीय मामिलासम्बन्धी स्थायी समितिमा संयुक्त राष्ट्रसंघीय प्रणालीको सुधार तथा तान्जानियामा रहेको संयुक्त राष्ट्रसंघीय देश टोलीसम्बन्धी छलफल हुनेछ ।

यसै क्रममा ‘अझ प्रभावकारी र प्रतिनिधिमूलक संयुक्त राष्ट्रसंघतर्फ’ शीर्षकको प्रस्तावमाथि छलफल गरी संयुक्त राष्ट्रसंघको बडापत्र पुनरावलोकनसम्बन्धी सम्मेलन आह्वान गर्ने प्रस्तावमा निर्णय गरिनेछ। लोकतन्त्र तथा मानव अधिकारसम्बन्धी स्थायी समितिमा मस्यौदा प्रस्तावको लेखनकार्य पूरा गरिनेछ भने दिगो विकाससम्बन्धी स्थायी समितिमा पर्वतीय तथा समुद्री पारिस्थितिक प्रणाली संरक्षण र सन् २०३० सम्म ३० प्रतिशत संरक्षण लक्ष्य हासिल गर्न संसदीय नेतृत्वसम्बन्धी प्रस्तावमाथि छलफल हुनेछ ।

शान्ति तथा अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी समितिमा द्वन्द्वका समयमा समुद्री सुरक्षा, महत्वपूर्ण पूर्वाधारको संरक्षण, अन्तर्राष्ट्रिय जलमार्ग तथा विश्वव्यापी आर्थिक स्थायित्वमा संसद्को भूमिकाबारे विज्ञ छलफल हुनेछ। समितिको ब्युरोका लागि निर्वाचन पनि हुनेछ ।

अक्टोबर ८ मा संयुक्त राष्ट्रसंघीय मामिलासम्बन्धी स्थायी समितिमा द्वन्द्व रोकथाम तथा समाधानका लागि संयुक्त राष्ट्रसंघीय संयन्त्रको भूमिकाबारे समूह छलफल हुनेछ। महासभामा आकस्मिक विषयमाथि छलफलसँगै सामान्य छलफललाई निरन्तरता दिइनेछ ।

दिगो विकाससम्बन्धी स्थायी समितिमा कृत्रिम बुद्धिमत्ता र रोजगारीको भविष्यबारे छलफल, टर्कीमा हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलनमा आयोजना हुने संसदीय बैठकका लागि तयारी तथा समितिको ब्युरो निर्वाचन हुनेछ ।

लोकतन्त्र तथा मानव अधिकारसम्बन्धी स्थायी समितिले मस्यौदा प्रस्ताव पारित गर्नेछ भने महासभामा आइपियुका प्रस्ताव तथा निर्णय कार्यान्वयनसम्बन्धी विशेष जवाफदेहिता सत्र आयोजना हुनेछ। सोही दिन महासभाको सामान्य छलफल सम्पन्न हुनेछ ।

अक्टोबर ९ मा गभर्निङ काउन्सिलको बैठक हुनेछ। बैठकमा आइपियु अध्यक्षको निर्वाचन, सांसदहरूको मानव अधिकारसम्बन्धी विषयमा निर्णय तथा विभिन्न विशेष बैठकका प्रतिवेदनमाथि छलफल गरिनेछ ।

त्यसपछि महासभामा विभिन्न प्रस्ताव पारित गर्ने, स्थायी समितिका प्रतिवेदन प्रस्तुत गर्ने, सामान्य छलफलको निष्कर्ष दस्ताबेज पारित गर्ने तथा आइपियुको विधानमा प्रस्तावित संशोधन अनुमोदन गर्ने कार्यक्रम छ। महासभा सम्पन्न भएपछि सभामुख अर्याल नेतृत्वको प्रतिनिधिमण्डल केन्याको राजधानी नैरोबी प्रस्थान गर्नेछ ।

केन्यामा पनि प्रतिनिधिमण्डलको कार्यक्रम व्यस्त रहनेछ। अक्टोबर १० मा नैरोबीस्थित नेपाली समुदायसँग अन्तरक्रिया गर्ने तथा नैरोबी नेसनल पार्क, जिराफ सेन्टर र डेभिड शेल्ड्रिक वन्यजन्तु संरक्षण केन्द्रको भ्रमण गर्ने कार्यक्रम छ।
अक्टोबर ११ मा नैरोबी सहरका प्रमुख सांस्कृतिक तथा ऐतिहासिक स्थलको अवलोकन गर्दै स्थानीय जीवनशैलीबारे जानकारी लिने कार्यक्रम रहेको छ ।

अक्टोबर १२ मा केन्याको संसद् भवनस्थित समिति कक्षमा उपसभामुख तथा सांसद ग्लाडिस जेप्कोसेगी बोससँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। त्यसपछि संसदीय बजेट कार्यालयसँग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

यसरी सभामुख अर्यालको तान्जानिया भ्रमण आइपियुको महासभामा नेपालको संसदीय सहभागितासँगै विभिन्न मुलुकका संसदीय नेतृत्वसँग द्विपक्षीय सम्बन्ध र संसदीय कूटनीति अघि बढाउने अवसरका रूपमा रहनेछ ।

महासभापछि केन्यामा हुने संसदीय तथा अन्य कार्यक्रमले पनि नेपालको अन्तर्राष्ट्रिय संसदीय सम्पर्क विस्तारमा जोड दिने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार