आशिक हुसैन शेख
दोहा, कतार
थारू कल्याणकारिणी सभा (थाकसा) कतार च्याप्टरअन्तर्गत महिला विभागद्वारा आयोजित ‘जितिया पर्व विशेष सांस्कृतिक कार्यक्रम–२०२६’ भव्य रूपमा सम्पन्न भएको छ ।
कतारको सनैयास्थित प्लाजा मलमा रहेको मेसकैफे रेस्टुरेन्टको सभा हलमा शुक्रबार आयोजित कार्यक्रममा कतारमा रहेका थारू समुदायका सदस्यसँगै विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता, व्यवसायी, इन्जिनियर, बुद्धिजीवी तथा सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
‘जातीय पहिचानको संरक्षण, प्रवर्द्धन, शैक्षिक, आर्थिक, सामाजिक उत्थान हाम्रो समर्पण’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रमको मुख्य उद्देश्य प्रवासमा रहेर पनि थारू समुदायको मौलिक भाषा, संस्कृति, धर्म, संस्कार, परम्परा तथा पहिचानको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ ।
थारू समुदायमा मातृत्व, सन्तानप्रतिको अगाध प्रेम तथा सन्तानको सुख, शान्ति, दीर्घायु र पारिवारिक समृद्धिको कामनासहित मनाइने जितिया पर्वको अवसरमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको अध्यक्षता थाकसा कतार च्याप्टर महिला विभागकी प्रमुख शर्मिला चौधरीले गर्नुभएको थियो। नेपाल आदिवासी जनजाति महासंघ कतारकी महिला विभाग संयोजक रबिना मगर प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने नेपाली महिला समाज कतारकी उपाध्यक्ष लिला राई विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रममा थाकसा कतारका सभापति भगवती प्रसाद चौधरी, संरक्षक इन्जिनियर सियाराम चौधरी, प्रमुख सल्लाहकार हरि बहादुर महतो, विशेष सल्लाहकार श्यामलाल चौधरी, संस्थापक महामन्त्री तथा पूर्व संरक्षक एवं नेपाल इन्जिनियरिङ एसोसिएसन कतार च्याप्टरका अध्यक्ष इन्जिनियर सिताराम चौधरीलगायतको उपस्थिति रहेको थियो ।
नेपाल आदिवासी जनजाति महासंघ कतारका पूर्व अध्यक्ष दिनेश तामाङलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिको पनि कार्यक्रममा सहभागिता थियो ।
मौलिक संस्कृति संरक्षणमा जोड
कार्यक्रममा नेपाल इन्जिनियरिङ एसोसिएसन कतार सेन्टरका अध्यक्ष तथा थाकसा कतार च्याप्टरका संस्थापक महामन्त्री एवं सन् २०२४ सम्मका पूर्व संरक्षक इन्जिनियर सिताराम चौधरीले थारू समुदायको मौलिक पहिचान, भाषा, संस्कृति, परम्परा र रीतिरिवाजको संरक्षण तथा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो ।
थारू समुदाय नेपालको महत्वपूर्ण आदिवासी जनजाति समुदायमध्ये एक रहेको उल्लेख गर्दै उहाँले समुदायको ऐतिहासिक पहिचान र सांस्कृतिक सम्पदालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्नु सबैको साझा जिम्मेवारी भएको बताउनुभयो ।
विदेशमा रहेर पनि आफ्नो भाषा, संस्कृति र पहिचानलाई जोगाउँदै कतारमा रहेका थारू समुदायबीच आपसी एकता, भाइचारा र सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने उहाँको भनाइ थियो। साथै नेपाली समाजका विभिन्न समुदायबीच सद्भाव, सहिष्णुता र एकताको भावना कायम राख्दै सामाजिक गतिविधिमा सक्रिय सहभागिता जनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
श्रद्धाञ्जलीपछि सुरु भयो सांस्कृतिक कार्यक्रम
गुन्जा चौधरीले सञ्चालन गर्नुभएको कार्यक्रम राष्ट्रिय गानबाट सुरु भएको थियो। त्यसपछि ज्ञात–अज्ञात शहीदहरूप्रति सम्मान व्यक्त गर्दै रसुवा तथा नुवाकोटमा आएको बाढीपहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
प्राकृतिक विपत्तिमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दिवंगत आत्माहरूको चिरशान्तिका लागि एक मिनेट मौनधारणसमेत गरिएको थियो ।
त्यसपछि स्वागत नृत्य प्रस्तुत गरिएको थियो। कार्यक्रम संयोजक गंगा चौधरी र पूजा चौधरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। अतिथिहरूलाई खादा ओढाएर सम्मान गर्नुका साथै दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो ।
जितिया पर्वको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वबारे सृजना चौधरीले प्रकाश पार्नुभएको थियो भने थाकसा कतारका सांस्कृतिक संरक्षक तथा सल्लाहकार अरुण कुमार चौधरीले परम्परागत जितिया कथा वाचन गर्नुभएको थियो ।
थारू कला र संस्कृतिले गुञ्जियो कार्यक्रमस्थल
कार्यक्रमको मुख्य आकर्षण थारू समुदायको मौलिक कला, संस्कृति र परम्परामा आधारित विविध सांस्कृतिक प्रस्तुति बनेको थियो ।
‘एले जितिया’, ‘थारु पावन खेले’, ‘झुम्रा नाच’, ‘गुराँस फुल्दा बनाई रमाइलो’, ‘जिन्गी रे’ तथा ‘थुन्दिया बोलाए सजना’ लगायतका गीतमा कलाकारहरूले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।
सुनिता, पूजा, पूर्णिमा, सुस्मिता, एन्जिला, रितु, बिन्दा, हरेराम, सञ्जय, कमल, जीवन, प्रिया, रिमा, समिता, गंगा, विमल, महेन्द्र, मनोज, सिर्जना, अरुण तथा पुलकितलगायतका कलाकारहरूको प्रस्तुतिले दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो ।
त्यसैगरी अन्तर्राष्ट्रिय मिथिला कला संस्कृति ग्रुप दोहा, कतारको सहयोगमा मनिष गोस्वामी, सन्तोष विश्वकर्मा, मनोज शर्मा, जितेन्द्र पासवान, राम जनम मण्डल, रामानन्द चौधरी, सैलेन्द्र यादव, विश्वेश्वर प्रसाद र वोकिल मण्डललगायतका कलाकारहरूले पनि प्रस्तुति दिएका थिए ।
त्यसैगरी सन्तोषी चौधरी, उपेन्द्र, बिना, सविन चौधरी, अजय कुमार धनुवार तथा चन्द्र चौधरी लगायत गायक–गायिकाहरूले सुमधुर गीत प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।
परम्परागत गीत–संगीत, नृत्य र कलाकारहरूको उत्साहपूर्ण प्रस्तुतिले कार्यक्रमस्थललाई सांस्कृतिक उत्सवमय बनाएको थियो। प्रवासमा रहेर पनि आफ्नो मौलिक पहिचान, भाषा, कला र संस्कृतिलाई जीवन्त राख्ने उद्देश्य कार्यक्रमका प्रस्तुतिहरूमा स्पष्ट रूपमा झल्किएको थियो ।
प्रवासमा संस्कृति संरक्षणमा महिला विभागको सक्रियता
कार्यक्रममा सहभागी विभिन्न सामाजिक अभियन्ता, संघ–संस्थाका प्रतिनिधि तथा अतिथिहरूले जितिया पर्वको शुभकामना व्यक्त गर्दै प्रवासमा थारू समुदायको भाषा, संस्कृति, परम्परा र पहिचान संरक्षणमा यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहने धारणा राखेका थिए ।
उनीहरूले नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति, परम्परा र सांस्कृतिक मूल्यसँग जोड्न प्रवासमा निरन्तर यस्ता कार्यक्रम आयोजना गर्नुपर्नेमा जोड दिएका थिए ।
थाकसा कतारको महिला विभागले आयोजना गरेको कार्यक्रमले जितिया पर्वको धार्मिक तथा सांस्कृतिक महत्वलाई उजागर गर्नुका साथै कतारमा रहेका थारू समुदायबीच आपसी एकता, सद्भाव र सांस्कृतिक पहिचानलाई थप बलियो बनाउने माध्यम बनेको आयोजकको भनाइ छ ।


