अजय कुमार मिश्र
कृष्णनगर, असोज २० गते ।
कपिलवस्तुको कृष्णनगर बजारस्थित बसपार्कमा इलाका प्रहरी कार्यालय कृष्णनगरले नागरिक सहायता कक्ष स्थापना गरेको छ। नेपाल–भारतको प्रमुख भन्सार नाका कृष्णनगर हुँदै ठूलो संख्यामा नागरिकको आवतजावत हुने भएकाले चाडपर्वका बेला घर फर्किने नेपाली यात्रुलाई लक्षित गरी सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।

दशैं, तिहार तथा छठजस्ता प्रमुख चाडपर्वका अवसरमा भारतलगायत विभिन्न स्थानबाट नेपालीहरू घर फर्किने क्रम बढ्ने भएकाले उनीहरूको यात्रा सहज, सुरक्षित र व्यवस्थित बनाउन नागरिक सहायता कक्ष स्थापना गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक कृष्णबहादुर कुँवरका अनुसार नेपाल प्रवेश गर्ने नागरिकलाई आवश्यक सूचना तथा सहयोग उपलब्ध गराउनु सहायता कक्षको मुख्य उद्देश्य हो। चाडपर्वका बेला यात्राका क्रममा आइपर्ने समस्या समाधानमा सहजीकरण गर्दै नागरिकलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुग्न सहयोग गरिने उनले बताए ।

यस्तै, चाडपर्वलाई लक्षित गरी कृष्णनगर क्षेत्रमा सुरक्षा व्यवस्थासमेत थप मजबुत बनाइएको प्रहरीले जनाएको छ। यात्रुको चाप बढ्ने स्थान तथा संवेदनशील क्षेत्रमा प्रहरी टोली परिचालन गरी नियमित निगरानी र सुरक्षा व्यवस्था मिलाइएको छ ।

कृष्णनगर भन्सार हुँदै नेपाल प्रवेश गर्ने नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउनुका साथै चाडपर्वका समयमा हुन सक्ने सम्भावित घटना तथा आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले सहायता कक्ष र थप सुरक्षा व्यवस्था सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार