बिरगंज: सामाजिक विभेद, छुवाछुत र आर्थिक अभावका अनेकौँ चुनौती पार गर्दै डोम समुदायबाट चिकित्सक बन्न सफल सप्तरीको छिन्नमस्ता गाउँपालिका–२, रमपुराका डा. दिनेश मरिक (डोम) लाई वीरगञ्जमा सम्मान गरिएको छ ।
मेची–महाकाली पदयात्राका क्रममा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सर्लाही क्षेत्र नं. ४ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले डा. मरिकलाई सम्मान तथा बधाई दिँदै उनको संघर्ष र सफलतालाई सीमान्तकृत समुदायका लागि प्रेरणादायी उपलब्धि भएको बताए ।
सांसद सिंहले डा. मरिकले जातीय विभेदसँगै चरम आर्थिक अभावका बीच चिकित्सा शिक्षा पूरा गरेको उल्लेख गरे। उनका अनुसार डा. मरिकले जातीय विभेदकै कारण पटक–पटक डेराबाट निकालिनुपर्ने अवस्था भोगेका थिए भने विद्यालयमा समेत सरस्वती पूजाको प्रसाद छुन नदिइएको जस्तो विभेदको सामना गर्नुपरेको थियो ।
यस्ता कठिन परिस्थितिका बाबजुद अध्ययनलाई निरन्तरता दिँदै चिकित्सक बन्न सफल हुनु व्यक्तिगत उपलब्धिमात्र नभई सिंगो डोम तथा सीमान्तकृत समुदायको संघर्ष र आत्मसम्मानको जित भएको सांसद सिंहले बताए ।
“डा. दिनेश मरिकको सफलता हजारौँ सीमान्तकृत युवाका लागि सपना देख्ने र त्यसलाई पूरा गर्ने प्रेरणा हो। अवसरको अभावमा कुनै पनि प्रतिभा पछाडि पर्नु हुँदैन,” सिंहले भने ।
उनले आर्थिक तथा सामाजिक पहुँचको अभावमा डाक्टर, इन्जिनियरलगायत पेशागत शिक्षा हासिल गर्नबाट वञ्चित भइरहेका दलित तथा सीमान्तकृत समुदायका प्रतिभाशाली विद्यार्थीका लागि विशेष छात्रवृत्ति र आर्थिक सहयोगको व्यवस्था गर्न सरकारमाथि संसद् तथा सडक दुवैबाट आवाज उठाउने प्रतिबद्धता जनाए ।
सांसद सिंहले डा. मरिकजस्तै विपन्न तथा सीमान्तकृत समुदायबाट आउने प्रतिभाशाली युवालाई अघि बढाउँदै कम्तीमा १०० जना डाक्टर तयार पार्ने लक्ष्य राखेर व्यक्तिगत तथा राजनीतिक रूपमा आवश्यक पहल र नेतृत्व गर्ने घोषणा समेत गरे ।
डा. मरिकको शैक्षिक यात्रामा सुरुदेखि नै अभिभावकीय भूमिका निर्वाह गर्दै छात्रवृत्ति तथा आर्थिक सहयोग जुटाउन प्रदेश सरकारलगायत विभिन्न निकायमा पहल गर्ने लेखक, पत्रकार तथा दलित अधिकारकर्मी भोला पासवानको योगदानको पनि सिंहले प्रशंसा गरे। कठिन परिस्थितिमा निरन्तर साथ, सहयोग र पहल गर्ने व्यक्तिहरूको भूमिकाले डा. मरिकको सफलतामा महत्वपूर्ण योगदान पुगेको उनले बताए ।
कार्यक्रममा सामाजिक न्याय, समान अवसर, शिक्षा तथा सीमान्तकृत समुदायको अधिकारलगायत विषयमा समेत छलफल भएको जनाइएको छ। डा. मरिकको संघर्ष र सफलतालाई सम्मान गर्दै सांसद सिंहले उनको आगामी व्यावसायिक यात्राको सफलताको शुभकामना व्यक्त गरे ।

