गाैशाला, असोज २१ गते ।
नेपालीहरूको महान् चाड वडा दसैं, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वलाई लक्षित गर्दै महोत्तरीमा चाडपर्व लक्षित एकीकृत सुरक्षा योजना–२०८३ पूर्ण रूपमा कार्यान्वयनमा ल्याइएको छ ।

चाडपर्वका समयमा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै जिल्लाभर एक हजार ३ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् ।

प्रमुख जिल्ला अधिकारी यादवले बुधबार विज्ञप्ति जारी गर्दै चाडपर्वका अवसरमा नागरिकको आवतजावत, हाटबजार तथा आर्थिक गतिविधि बढ्ने भएकाले शान्ति सुरक्षा, अमनचयन र सुव्यवस्था कायम गर्न एकीकृत सुरक्षा योजना लागू गरिएको बताएका हुन् ।

सुरक्षा योजनाअन्तर्गत नागरिकको जीउधनको सुरक्षा, सामाजिक तथा साम्प्रदायिक सद्भाव कायम राख्नुका साथै खुला सीमा नाकाबाट हुने अवैध चोरी–पैठारी, पटका तथा हातहतियार ओसारपसार नियन्त्रणमा विशेष निगरानी बढाइएको छ । राजमार्ग तथा सहायक सडकमा हुने सवारी दुर्घटना न्यूनीकरण र बजारमा हुन सक्ने कालोबजारी नियन्त्रणलाई समेत प्राथमिकतामा राखिएको प्रशासनले जनाएको छ ।

महोत्तरीका विभिन्न सीमा नाकामा चौबीसै घण्टा पिकेट, चेकपोस्ट तथा संयुक्त गस्ती सञ्चालन गरिएको छ । पूर्व–पश्चिम लोकमार्ग तथा भित्री सडकहरूमा आकस्मिक चेकिङ र मोबाइल गस्ती परिचालन गरिएको छ भने बजार, बैंक तथा वित्तीय संस्थामा पैदल गस्ती र सादा पोशाकका सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ ।

चाडपर्वका क्रममा हुने दुर्गा पूजा, मेला तथा मूर्ति विसर्जनका कार्यक्रमलाई व्यवस्थित र सुरक्षित बनाउन पूर्वस्वीकृति तथा निर्धारित समयतालिकाअनुसार मात्रै सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । सम्भावित आगलागी तथा अन्य विपद्का घटनालाई तत्काल सम्बोधन गर्न स्थानीय तहका दमकल, एम्बुलेन्स तथा विपद् उद्धार टोलीलाई समेत तयारी अवस्थामा राखिएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा अन्य सुरक्षा संयन्त्रबीच समन्वय गरी संवेदनशील क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ । आवश्यकताअनुसार नेपाली सेनासँग समेत समन्वय गरी रणनीतिक प्रतिष्ठानको सुरक्षा, स्कर्टिङ तथा फ्लाइङ मार्चलगायतका कार्यमा परिचालन गर्न सकिने व्यवस्था मिलाइएको छ ।

प्रमुख जिल्ला अधिकारी यादवका अनुसार चाडपर्वका बेला सुरक्षा चुनौतीसँगै सामाजिक विकृति नियन्त्रणमा पनि प्रशासनले विशेष ध्यान दिएको छ । विदेशबाट अवैध रूपमा पटका, भुइँचम्पा तथा आतिशबाजीका सामग्री नल्याउन, बिक्री–वितरण नगर्न, सडकमा डोरी तानेर जबर्जस्ती चन्दा नउठाउन, जुवातास नखेल्न तथा मदिरा सेवन गरी अशान्ति सिर्जना नगर्न प्रशासनले आग्रह गरेको छ ।

त्यसैगरी सामाजिक सञ्जालमा साम्प्रदायिक द्वेष फैलाउने तथा सामाजिक सद्भावमा असर पार्ने गतिविधि नगर्नसमेत प्रशासनले अनुरोध गरेको छ । सवारी चालकलाई ट्राफिक नियम पूर्ण रूपमा पालना गर्न, क्षमताभन्दा बढी यात्रु नबोक्न तथा तोकिएको भन्दा बढी भाडा नलिन पनि आग्रह गरिएको छ ।

प्रशासनले जिल्लामा कुनै शंकास्पद गतिविधि देखिएमा तत्काल नजिकको प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोल १००, विपद् १२३४, एम्बुलेन्स १०२ तथा दमकल १०१ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी यादवले चाडपर्वलाई सुरक्षित, मर्यादित, शान्तिपूर्ण तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायसँगै नागरिकको समेत महत्वपूर्ण भूमिका रहने बताएका छन् । प्रशासनले सबै जिल्लावासीलाई संयमित र जिम्मेवार भएर चाडपर्व मनाउन अपिल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार