काठमाडौँ: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले बेलायती सेनाका प्रमुख रोली वाल्करसँग भेटवार्ता गरेका छन्।
बुधबार बेलायती सेनाको मुख्यालयमा भएको भेटवार्तामा दुई देशबीचको आपसी हित, सैनिक सम्बन्ध तथा सहकार्यका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

भेटवार्ताका क्रममा प्रधानसेनापति सिग्देलले बेलायती सेनाका विभिन्न सैनिक गतिविधिको समेत अवलोकन गरेका थिए। बेलायती सेनाका प्रमुख वाल्करको निमन्त्रणामा प्रधानसेनापति सिग्देल असोज १९ गते बेलायतको औपचारिक भ्रमणमा गएका हुन् ।

भ्रमणका क्रममा उनले मंगलबार पनि बेलायती पक्षसँग विभिन्न भेटघाट गरेका थिए। त्यसक्रममा प्रधानसेनापति सिग्देलले गोरखा सैनिक स्मारकमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली समेत व्यक्त गरेका थिए ।

प्रधानसेनापति सिग्देलको बेलायत भ्रमण असोज २५ गतेसम्म रहनेछ। त्यसपछि उनी स्वदेश फर्किने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार