गाैशाला, असाेज २१ गते ।
महोत्तरीमा विद्युत् ट्रान्सफर्मर चोरीका घटना बढिरहेका बेला प्रहरीले ट्रान्सफर्मरमा प्रयोग हुने तामाको क्वाइलसहित पाँच जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बर्दिबासको टोलीले असोज १९ गते साँझ बर्दिबास नगरपालिका–१ स्थित हमाल टोलबाट ३३ केभी ट्रान्सफर्मरमा प्रयोग हुने तामाको क्वाइलसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका–६ बगदहका ३१ वर्षीय इन्द्रजित महतो तथा महोत्तरीको बर्दिबास नगरपालिका–८ हात्तीलेटका २९ वर्षीय दिनेशकुमार महतो, २७ वर्षीय भरत यादव, ३१ वर्षीय भुवन भुजेल र २८ वर्षीय जयराम ठाकुर रहेका छन् ।
इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी गुरुप्रसाद तिमिल्सिनाका अनुसार पक्राउ परेकामध्ये कवाड व्यवसायी इन्द्रजित महतोले अन्य चार जनासँग मिलेर उक्त तामाको क्वाइल खरिद गरेको स्वीकार गरेका छन् ।
पक्राउ परेका पाँचै जनालाई इलाका प्रहरी कार्यालय बर्दिबासमा राखिएको छ। उनीहरूमाथि अनुसन्धानका लागि महोत्तरी जिल्ला अदालतबाट पक्राउ परेको मितिदेखि लागू हुने गरी पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले बरामद भएको तामाको क्वाइलको स्रोत तथा उनीहरूको गतिविधिबारे थप अनुसन्धान गरिरहेको छ ।
पछिल्लो समय महोत्तरीसँगै धनुषा र सर्लाहीमा समेत ट्रान्सफर्मर चोरीका घटना बढेकाले पक्राउ परेकाहरूको सम्भावित संलग्नता र आपराधिक सञ्जालबारे अनुसन्धान केन्द्रित गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी श्यामकृष्ण सारु मगरले पक्राउ परेकाहरूमाथि अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको बताए। ट्रान्सफर्मर चोरीमा संलग्न सम्भावित गिरोह र त्यससँग जोडिएको सञ्जाल पहिचान गर्ने गरी अनुसन्धान अघि बढाइएको उनको भनाइ छ ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पनि ट्रान्सफर्मर चोरीमा संलग्न गिरोहसम्म पुग्ने उद्देश्यले अनुसन्धानलाई तीव्रता दिइएको बताएका छन्। ट्रान्सफर्मर चोरी नियन्त्रणका लागि प्रहरीले आवश्यक सबै पक्षबाट अनुसन्धान अघि बढाइरहेको उनले जानकारी दिए ।
महोत्तरीमा सबैभन्दा बढी ट्रान्सफर्मर चोरी
प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेशका विभिन्न जिल्लाबाट ५८ वटा विद्युत् ट्रान्सफर्मर चोरी भएका छन्। तीमध्ये महोत्तरीमा मात्रै २८ वटा ट्रान्सफर्मर चोरी भएको तथ्यांकले देखाएको छ ।
त्यस्तै, सर्लाहीमा १७, धनुषामा १० र रौतहटमा ३ वटा ट्रान्सफर्मर चोरी भएका छन्। ट्रान्सफर्मर चोरीका घटनामा प्रदेशभर २० वटा मुद्दा दर्ता हुँदा ६ जना पक्राउ परेका छन् ।
तथ्यांकले मधेश प्रदेशमा भएका ट्रान्सफर्मर चोरीका घटनामध्ये महोत्तरी सबैभन्दा बढी प्रभावित जिल्ला रहेको देखाएको छ। पछिल्लो पक्राउसँगै प्रहरीले चोरीका घटनाको जडसम्म पुग्ने प्रयास थालेको जनाएको छ ।

