गाैशाला, असोज २१ गते ।
दिग्गज भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ । हिन्दी तथा मराठी चलचित्रमा आफ्नो दमदार अभिनय र प्रभावशाली संवाद प्रस्तुतिका लागि चर्चित पाटेकरको बिहीबार बिहान गोवास्थित आफ्नै निवासमा कार्डियाक अरेस्टका कारण निधन भएको हो ।

अस्पताल स्रोतका अनुसार पाटेकरलाई बिहान असहज महसुस भएपछि उपचारका लागि मणिपाल अस्पताल लगिएको थियो । चिकित्सकहरूले उनलाई बचाउन करिब ४५ मिनेटसम्म लगातार सीपीआर दिएका थिए । तर उपचारका क्रममा उनलाई बिहान ५ बजेर २० मिनेटमा मृत घोषित गरिएको थियो ।

पाटेकरको निधनको खबरले भारतीय चलचित्र क्षेत्रमा शोक छाएको छ। करिब पाँच दशक लामो अभिनय यात्रामा उनले गम्भीर, सामाजिक, एक्सनदेखि हास्यप्रधान भूमिकासम्म विभिन्न चरित्रमा आफूलाई अब्बल साबित गरेका थिए ।

सन् १९५१ जनवरी १ मा महाराष्ट्रमा जन्मिएका पाटेकरले सन् १९७८ मा ‘गमन’ चलचित्रबाट हिन्दी सिनेमामा प्रवेश गरेका थिए। त्यसपछि उनले हिन्दी र मराठी दुवै भाषाका चलचित्रमा अभिनय गर्दै आफ्नो छुट्टै पहिचान बनाए ।

‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘तिरंगा’, ‘प्रहार’, ‘खामोशी : द म्युजिकल’, ‘अब तक छप्पन’, ‘अपहरण’, ‘राजनीति’, ‘नटसम्राट’ तथा ‘वेलकम’ लगायतका चलचित्रमा उनले निर्वाह गरेका भूमिका दर्शकमाझ निकै लोकप्रिय छन् । विशेषगरी ‘वेलकम’मा उदय शेट्टीको भूमिकाले उनको हास्य अभिनयको पक्षलाई पनि व्यापक रूपमा चर्चामा ल्याएको थियो ।

अभिनयसँगै पाटेकर निर्देशक र रंगमञ्च कलाकारका रूपमा पनि सक्रिय थिए। उनले ‘प्रहार’ चलचित्र निर्देशन गरेका थिए। चलचित्र क्षेत्रमा गरेको योगदानका लागि उनले तीनपटक राष्ट्रिय चलचित्र पुरस्कारसहित विभिन्न सम्मान प्राप्त गरेका थिए। उनलाई भारत सरकारले पद्मश्रीबाट समेत सम्मानित गरेको थियो ।

पाटेकरको निधनको कारण कार्डियाक अरेस्ट बताइए पनि घटनाबारे मेडिको–लिगल प्रक्रिया अघि बढाइएको र पोस्टमार्टमबाट थप विवरण स्पष्ट हुने जनाइएको छ।
भारतीय चलचित्रमा गहिरो प्रभाव छाडेका पाटेकरको निधनलाई चलचित्र क्षेत्रले एक प्रभावशाली कलाकारको अवसानका रूपमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार