गाैशाला, असाेज २५ गते ।
महोत्तरीको सोनमा गाउँपालिका–४ खेश्राहामा विजया दशमीको अवसरमा हात्ती–घोडासहितको विशाल कलश यात्रा सम्पन्न भएको छ। सोनमा गाउँपालिका अध्यक्ष विशेश्वर प्रसाद यादवको प्रमुख आतिथ्यमा आयोजित उक्त कलश यात्रामा १ हजार १०० कन्या कुमारी सहभागी रहेका थिए ।

दुर्गा मेला समितिका अध्यक्ष सन्तोष कुमार यादवका अनुसार धार्मिक विधिअनुसार पूजा–पाठ गरी कलश यात्रा निकालिएको हो। कलश यात्रामा सहभागी कन्या कुमारीहरूले खेश्राहा बजारको उत्तरपट्टि रहेको कन्तवा नदीमा पुगेर पूजापाठ गरि नदीबाट कलशमा जल भरेर धार्मिक विधिअनुसार यात्रा सुरु गरिएको थियो ।

हात्ती–घोडासहित निकालिएको भव्य कलश यात्रा खेश्राहा बजार हुँदै खैरबनी, खेश्राहा र गुलरिया क्षेत्रको परिक्रमा गरी पुनः खेश्राहा बजारस्थित दुर्गा मन्दिरमा पुगेको थियो। मन्दिरमा विधिपूर्वक कलश स्थापना गरेपछि यात्रा सम्पन्न भएको समितिका अध्यक्ष यादवले जानकारी दिए ।

यस अवसरमा सोनमा गाउँपालिका अध्यक्ष विशेश्वर प्रसाद यादवले सम्पूर्ण गाउँपालिकावासी, भक्तजन तथा श्रद्धालुहरूमा विजया दशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्। उनले दसैँले सबैमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र आपसी सद्भाव कायम गर्न सहयोग पु¥याओस् भन्ने कामना गर्दै धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र प्रवर्द्धनमा सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।

अध्यक्ष यादवका अनुसार खेश्राहासहित सोनमा गाउँपालिकाका विभिन्न वडामा नवाह सुरु गर्ने उद्देश्यले कलश यात्रा निकालेर कलश स्थापना गरिएको हो। उनले दसैँजस्ता पर्वले समाजमा धार्मिक आस्था, सामाजिक एकता र भाइचाराको भावना बलियो बनाउने विश्वास व्यक्त गर्दै सम्पूर्ण गाउँपालिकावासीलाई हर्षोल्लासका साथ चाडपर्व मनाउन आग्रह गरेका छन् ।

कलश यात्रालाई व्यवस्थित र सुरक्षित बनाउन आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको आयोजकले जनाएको छ। धार्मिक विधिअनुसार सम्पन्न उक्त यात्राले खेश्राहा क्षेत्रमा दसैँको रौनक बढाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार