गाैशाला, असाेज २५ गते ।
बडादशैँको पावन अवसरमा विश्व शान्ति, मानव कल्याण तथा धार्मिक सद्भावको कामना गर्दै महोत्तरीको मटिहानीमा शान्ति कलश शोभायात्रा आयोजना गरिएको छ ।
श्री आदर्श दुर्गा पूजा समिति, मटिहानीको आयोजनामा निकालिएको शोभायात्रा मटिहानीस्थित ऐतिहासिक दुर्गा मन्दिरको प्राङ्गणबाट शुभारम्भ भएको थियो। मटिहानीका मुख्य–मुख्य मार्ग हुँदै मधवापुरलगायतका क्षेत्रको परिक्रमा गरेको शोभायात्रा लक्ष्मी सागरमा कलश भरेपछि पुनः दुर्गा मन्दिरको प्राङ्गणमा पुगेर सम्पन्न भएको थियो ।
शोभायात्राका क्रममा भक्तजनहरूले दुर्गा भवानीको जयघोष गर्दै धार्मिक तथा आध्यात्मिक वातावरण सिर्जना गरेका थिए। नौवटा शक्तिपीठको प्रतीकात्मक झाँकी, आकर्षक सजावट, बाजागाजा तथा विभिन्न धार्मिक समूहका प्रस्तुतिले शोभायात्रालाई थप आकर्षक बनाएको थियो ।
शोभायात्रामा महोत्तरी निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य उज्ज्वल कुमार झा, मधेश प्रदेशका पूर्वमन्त्रीहरू अभिराम शर्मा र रानी शर्मा तिवारी, मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डल, उपप्रमुख मञ्जु देवी साह, महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सहायक प्रमुख जिल्ला अधिकारी सञ्जय कुमार पोखरेल तथा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्याम सारू मगरलगायतको सहभागिता रहेको थियो ।
त्यसैगरी, जलेश्वर नगरपालिकाका पूर्वनगरप्रमुख शंकर शाही, उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष विजय कुमार साह, नेपाल पत्रकार महासंघ महोत्तरीका पूर्वअध्यक्ष कमलेश मण्डल, महोत्तरी उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र चौधरी, पूर्वअध्यक्ष मोहन गुप्ता, पूर्वउपाध्यक्ष राकेश गुप्ता, उपाध्यक्षद्वय अजय साह र पवन साह तथा सदस्य रञ्जित साहलगायत उद्योगी–व्यवसायीहरूको उपस्थिति थियो ।
कार्यक्रममा जनता समाजवादी पार्टीका नगर अध्यक्ष श्याम कुमार मण्डल, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, मटिहानी नगरपालिकाका वडा नं. १ देखि ९ सम्मका वडाध्यक्ष तथा वडा सदस्यहरू, पूर्वकर्मचारी कैलाश ठाकुर, रामसेवक साह र बरुण मण्डल, पूर्वशिक्षक राजेश्वर मण्डल र विश्वनाथ यादव, सुरक्षाकर्मी, स्थानीय समाजसेवी, धार्मिक अगुवा, जनप्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
श्री आदर्श दुर्गा पूजा समिति, मटिहानीका अध्यक्ष नरेश कुमार महतोसहित समितिका पदाधिकारीहरूको सहभागितामा सम्पन्न शोभायात्राले बडादशैँको धार्मिक महत्त्वलाई उजागर गर्नुका साथै सामाजिक एकता, आपसी सद्भाव र धार्मिक सहिष्णुताको सन्देश प्रवाह गरेको थियो ।


