गोरखा, असोज २५ गते।
गोरखाको चुमनुव्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच आज बिहान गएको पहिरोका कारण बुढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी आएको छ। बाढीले नदीको तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको छ भने पाँच जना बेपत्ता भएको सूचना प्राप्त भएको छ ।
बेपत्ताहरूको खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ।
बाढीले झोलुङ्गे पुल र पक्की पुल, टेलिफोन टावर, विद्युत्का पोल, निर्माणाधीन बुढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र, निर्माण उपकरण तथा आसपासका घरहरू बगाएको छ। बाढीका कारण प्रभावित क्षेत्रमा भौतिक संरचनामा व्यापक क्षति पुगेको छ भने जनजीवनसमेत प्रभावित बनेको छ ।
बाढीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरी टोली परिचालन गरी नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो। प्रभावित गोरखाको सल्लेरीस्थित निर्माणाधीन बुढीगण्डकी जलविद्युत् आयोजनाका १२ कर्मचारीसहित ४८ जनालाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहान ६ बजे गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपरासी (पूर्व) र नवलपरासी (पश्चिम) जिल्लाका २२१ जना प्रतिकार्यकर्तालाई तत्काल परिचालन हुन एसएमएसमार्फत सूचना पठाएको थियो। त्यस्तै, जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले गोरखादेखि धादिङ हुँदै चितवनको बेनिघाटसम्मका सर्वसाधारणलाई दुई चरणमा करिब दुई लाख एसएमएस पठाएर पूर्वसूचना सम्प्रेषण गरेको जनाएको छ ।
४३७ सुरक्षाकर्मी र चार हेलिकोप्टर परिचालन
बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी छ। उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन नेपाली सेनाका तीनवटा स्पेसल फोर्ससहित १२७ जना, नेपाल प्रहरीका १३३ जना र सशस्त्र प्रहरी बल नेपालका १७७ जना गरी कुल ४३७ सुरक्षाकर्मी परिचालन गरिएको छ ।
नेपाली सेनाका चारवटा हेलिकोप्टरसमेत प्रभावित क्षेत्रमा परिचालन गरिएका छन् । पहिरो जानुको कारण पत्ता लगाउन भूगर्भविद्सहित तीन सदस्यीय टोली ड्रोन लिएर प्रभावित क्षेत्रमा खटाइएको छ। आवश्यक परे तत्काल परिचालन गर्न नेपाल प्रहरीको विपद् प्रतिकार्य तथा तालिम केन्द्रमा ५० जनाको टोली तयारी अवस्थामा राखिएको छ ।
प्राधिकरणको विपद् प्रतिकार्य कमाण्ड पोष्टको बैठक निरन्तर सञ्चालन भइरहेको छ। बैठकमार्फत बाढीको अवस्थाको अनुगमन तथा विश्लेषण, आवश्यक सूचना सम्प्रेषण र उद्धार तथा राहत कार्यका लागि सम्बन्धित निकायसँग समन्वय र सहजीकरण भइरहेको छ ।
राहत र पुनःस्थापनाको तयारी
बाढी प्रभावित क्षेत्रमा स्थल तथा हवाई मार्गबाट अत्यावश्यक राहत सामग्री ढुवानी भइरहेको छ। क्षतिग्रस्त सडक सञ्चालनमा ल्याउने र आवश्यक स्थानमा बेलिब्रिज जडान गर्न सकिने सम्भावनाबारे अध्ययन गर्न सडक विभाग तथा स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशकसहितको टोली परिचालन गरिएको छ ।
गोरखा, लमजुङ र तनहुँका जिल्लास्तरीय द्रुत प्रतिकार्य टोलीलाई तयारी अवस्थामा राखिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको नेतृत्वमा प्रदेश र स्थानीय तहका आपत्कालीन चिकित्सकसहित स्वास्थ्यकर्मीको टोलीसमेत तयारी अवस्थामा राखिएको छ। प्रभावित क्षेत्रमा अलपत्र परेका पर्यटकको उद्धारका लागि सम्बन्धित मन्त्रालय तथा कम्पनीहरूलाई आवश्यक निर्देशन दिइएको छ ।
आरुघाट क्षेत्रमा बेलिब्रिज जडान गर्ने तयारीसमेत थालिएको छ। सरकारले बाढीबाट प्रभावित नागरिकको जनजीवन सामान्य बनाउने तथा क्षतिग्रस्त भौतिक पूर्वाधार पुनः सञ्चालनमा ल्याउने काम अगाडि बढाएको जनाएको छ।
बाढीसम्बन्धी सूचना प्राधिकरणलगायत सरोकारवाला निकायका सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत निरन्तर सार्वजनिक भइरहेको छ ।
यसैबीच, बुढीगण्डकी नदीको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन, जोखिमयुक्त पुल तथा सडकबाट आवतजावत नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गरेका निर्देशन पालना गर्न आग्रह गरिएको छ ।

