गाैशाला, असोज २५ गते।
महोत्तरीको औरही नगरपालिका–७ स्थित प्रसिद्ध सोनामाई मन्दिरमा बडादशैँको घटस्थापनाका अवसरमा निकालिएको दोस्रो ऐतिहासिक कलश शोभायात्रामा पाँच हजारभन्दा बढी श्रद्धालु सहभागी भएका छन् ।

विश्व शान्ति मानव कल्याण र धार्मिक सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित शोभायात्रासँगै मन्दिर क्षेत्रमा दशैँको चहलपहल बढेको छ। यस वर्ष लाग्ने भूत मेलामा करिब १५ लाख भक्तजन सहभागी हुने अनुमान सोनामाई पूजा समितिले गरेको छ ।

औरही नगरपालिका र स्थानीयवासीको संयुक्त आयोजनामा निकालिएको शोभायात्राको उद्घाटन नगरप्रमुख प्रदीपकुमार खड्का, उपप्रमुख रेणु झा तथा विभिन्न वडाका अध्यक्षहरूले संयुक्त रूपमा गरेका थिए। औरही नगरपालिका–२ स्थित फूलबरिया गाउँको जंघाहा खोलामा बेतो, पचाइन र जङ्गा खोलाको सङ्गमस्थलबाट सुरु भएको यात्रा सोनामाई मन्दिर पुगेर सम्पन्न भएको थियो। कार्यक्रममा महिला, पुरुष, बालबालिका, ज्येष्ठ नागरिक, धार्मिक अगुवा, जनप्रतिनिधि तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।

गत वर्ष पहिलोपटक आयोजित शोभायात्रामा करिब चार हजार कलश सहभागी गराइएको थियो। यस वर्ष सहभागीको सङ्ख्या बढेको आयोजकले जनाएको छ। नगरप्रमुख खड्काले शोभायात्राले नगरवासीबीच एकता कायम गर्न तथा धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

पाँच सय वर्ष पुरानो जनश्रुतिसँग जोडिएको मन्दिर
जलेश्वरदेखि करिब २३ किलोमिटर उत्तर र बर्दिबासदेखि करिब १७ किलोमिटर दक्षिणमा जलेश्वर–बर्दिबास सडकखण्डसँगै भोइल गाउँमा सोनामाई मन्दिर अवस्थित छ। सोनासती महारानीको मन्दिरका रूपमा समेत परिचित यो स्थल मिथिला क्षेत्रको चर्चित धार्मिक गन्तव्य हो ।

स्थानीय जनश्रुतिअनुसार करिब पाँच सय वर्षअघि मन्दिर रहेको क्षेत्रमा घना जङ्गल थियो। गाईभैँसी चराउन आउने गोठालाहरूको पाँचवटा भैँसी हराएपछि खोजी गर्ने क्रममा सोनासती महारानीसँग सम्बन्धित घटना भएको किंवदन्ती प्रचलित छ। त्यसपछि उक्त स्थानमा पूजाआराधना सुरु भएको स्थानीय विश्वास छ ।

पहिले ‘कहचरिया स्थान’का नामले चिनिने यस क्षेत्रमा पुरानो सिसौँको रूखको टोड्कामा सोनासती महारानीको बास रहेको विश्वास गरिन्थ्यो। पछि मूर्ति स्थापना गरी पूजापाठ गर्न थालिएको र स्थानीय जनश्रुतिअनुसार माझी चौधरीले भाकल पूरा भएपछि मन्दिर निर्माण गराएको बताइन्छ। पुरानो मन्दिर जीर्ण भएपछि हालको संरचना निर्माण गरिएको हो ।

घटस्थापनादेखि विजयादशमीसम्म विशेष पूजा
मन्दिरमा घटस्थापनादेखि विजयादशमीसम्म विशेष पूजा, आराधना र धार्मिक मेला आयोजना गरिन्छ। घटस्थापनामा कलश स्थापना गरी नवरात्र सुरु गरिन्छ भने सप्तमीमा फूलपाती भित्र्याउने, अष्टमीमा बोकाको र नवमीमा राँगाको बलि दिने परम्परा रहेको छ। दशमीमा परम्परागत धार्मिक विधि पूरा गरेपछि मेला समापन गरिन्छ ।

दशैँको चौथीदेखि अष्टमीसम्म यहाँ विशेष भूत मेला लाग्छ। स्थानीय मान्यताअनुसार भूतप्रेत वा दुष्ट आत्माको प्रभावबाट पीडित भएको ठानिएका व्यक्तिहरू झारफुक तथा परम्परागत धार्मिक विधिका लागि मन्दिर आउने गर्छन्। सन्तान प्राप्ति र मनोकामना पूरा हुने विश्वासमा भाकल गर्ने चलन पनि रहेको छ।
मन्दिर परिसरमा शिव, पार्वती, गणेश, राजदेवी र सरस्वतीलगायत देवीदेवताका मूर्ति छन्। त्यहाँ तपसी बाबाको धुनीसमेत रहेको छ, जहाँ चौबीसै घण्टा आगो बलिरहने धार्मिक विश्वास छ ।

धार्मिक पर्यटनको सम्भावना
सोनामाई मन्दिर धार्मिक आस्था, ऐतिहासिक जनश्रुति र मिथिला संस्कृतिसँग जोडिएको महत्त्वपूर्ण स्थल हो। मन्दिरको संरक्षण, पूर्वाधार विकास, सरसफाइ, यातायात व्यवस्थापन र प्रचारप्रसारमा ध्यान दिन सके यस क्षेत्रलाई व्यवस्थित धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने स्थानीयवासीको भनाइ छ ।

यस वर्ष भूत मेलामा करिब १५ लाख भक्तजन आउने अनुमान गरिएको छ। कलश शोभायात्रामा बढेको सहभागिताले सोनामाई मन्दिरको धार्मिक महत्त्व र पर्यटन सम्भावनालाई थप उजागर गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार