गाैशाला, असोज २६ गते।
महोत्तरीको मटिहानी नगरपालिकाभित्रका शारीरिक अशक्तता भएका व्यक्तिलाई ह्वीलचेयर वितरण गरिने भएको छ। स्वास्थ्य कार्यालय महोत्तरीबाट प्राप्त ह्वीलचेयर नगरपालिकाभित्रका ४० जना शारीरिक अशक्तता भएका व्यक्तिलाई वितरण गर्न लागिएको हो ।
यसैबीच, एक कार्यक्रमका बीच मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले ह्वीलचेयर वितरण कार्यक्रमको शुभारम्भ गर्नुभएको छ। ह्वीलचेयर वितरणले शारीरिक अशक्तता भएका व्यक्तिको आवागमन सहज बनाउन तथा दैनिक जीवनमा आत्मनिर्भरता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
मटिहानी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पवनकुमार मण्डलका अनुसार स्वास्थ्य कार्यालय महोत्तरीबाट उपलब्ध गराइएका ह्वीलचेयर नगरपालिकाभित्रका ४० जना शारीरिक अशक्तता भएका व्यक्तिलाई वितरण गरिनेछ ।
ह्वीलचेयर वितरण कार्यक्रममा मटिहानी स्वास्थ्य चौकीमा कार्यरत मेडिकल अधिकृत कृष्णकुमार पञ्जियार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख दीपा दास, सूचना तथा प्रविधि अधिकृत जयकुमार यादव, सिनियर अहेव अधिकृत नागेश्वर पाण्डे, जनस्वास्थ्य अधिकृत स्मृति लगायत स्थानीयवासीको उपस्थिति रहेको थियो ।


