कावासोती, असोज २६ गते ।
पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१७ अमलटारीघाटस्थित नारायणी नदीको किनारमा भेटिएको शंकास्पद वस्तु काट्ने क्रममा विस्फोट हुँदा दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का अनुसार मध्यबिन्दु नगरपालिका–३ ब्रह्मस्थानका ४९ वर्षीय एकासी बोटेले सोमबार बिहान करिब ८ बजे नारायणी नदीको किनारमा शंकास्पद वस्तु फेला पारेका थिए। उनले उक्त वस्तु घरमा ल्याएको र बिहान करिब ११:२० बजे कवाडी व्यवसायमा संलग्न व्यक्तिसँग मिलेर हेक्सा ब्लेडले काट्ने क्रममा अचानक विस्फोट भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बाहिरी भागमा डोरीजस्तो वस्तुले बेरिएको, भित्री भाग फलामजस्तो देखिने तथा बेलनाकार रहेको उक्त वस्तुको लम्बाइ करिब दुई फिट र गोलाइ १४ इन्च थियो। वस्तु के हो भन्नेबारे भने खुल्न बाँकी छ।
विस्फोटमा परी एकासी बोटे र भारतको बिहारस्थित मोतिहारी क्षेत्रका स्थायी बासिन्दा तथा हाल कावासोती नगरपालिका–८ थकाली चोकमा बस्दै आएका २८ वर्षीय सचिन कुमार घाइते भएका छन्।
दुवै जनालाई प्रारम्भिक उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डा लगिएको थियो। त्यहाँबाट बोटेलाई थप उपचारका लागि भरतपुर सरकारी अस्पताल र सचिन कुमारलाई चितवन मेडिकल कलेज (सीएमसी) रिफर गरिएको प्रहरीले जनाएको छ।

