जनकपुरधाम, असोज २६ गते ।
मधेश प्रदेश सरकारअन्तर्गतको दलित विकास समितिका नवनियुक्त तीन सदस्यले शपथ ग्रहण गरेका छन् ।
खेलकुद तथा समाज कल्याण मन्त्रालयअन्तर्गत रहेको समितिका नवनियुक्त सदस्यहरू शम्भु पासमान, गणेश पासमान र अमिक बराइलीले मन्त्रालयका मन्त्री लखन दासको उपस्थितिमा शपथ ग्रहण गरेका हुन् । समितिकी नवनियुक्त सदस्य सुनिता पासमानको भने शपथ ग्रहण हुन बाँकी रहेको छ ।
शपथ ग्रहण कार्यक्रममा मन्त्रालयका सचिव सुशील साह कानु, दलित विकास समितिका उपाध्यक्ष जितेन्द्र पासमान, सदस्य सचिव शिवजी गुप्तालगायत मन्त्रालय तथा समितिमा कार्यरत कर्मचारीहरूको उपस्थिति थियो ।
नवनियुक्त सदस्यहरूको शपथ ग्रहणसँगै दलित समुदायको सामाजिक, आर्थिक तथा शैक्षिक विकास, सशक्तीकरण र हकहित संरक्षणका क्षेत्रमा समितिको भूमिका थप प्रभावकारी हुने अपेक्षा गरिएको छ। दलित समुदायका समस्या सम्बोधन गर्न तथा उनीहरूको अधिकार र अवसर सुनिश्चित गर्न समितिले गर्ने कामलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

