गाैशाला, असोज २६ गते ।
“गाम घरमे आब न ढोल बजैय, दशहरा पावैन आयल बुझाइए न रहल अई।” अर्थात् गाउँघरमा अब ढोल बज्न छाड्यो, दसैँ आएको अनुभूति नै हुन छाड्यो। महोत्तरीको औरही नगरपालिका–२ की ७६ वर्षीया नवीन मिश्रको यो भनाइले मिथिलाञ्चलमा दसैँसँग जोडिएको मौलिक सांस्कृतिक परम्परा कसरी ओझेलमा पर्दै गएको छ भन्ने देखाउँछ ।

विगतमा घटस्थापनासँगै मिथिलाका गाउँबस्तीमा गुञ्जिने ‘दसैँके ढोल’ अर्थात् नगारा पछिल्लो समय सुनिन छाडेको छ। दसैँको आगमनसँगै चमार समुदायका अगुवाहरूले नगारा बजाउँदै गाउँ परिक्रमा गर्ने परम्परा थियो। नगारा बज्न थालेपछि गाउँमा दसैँ आएको सन्देश फैलिन्थ्यो। यसको धुनले बालबालिकादेखि वृद्धवृद्धासम्ममा चाडपर्वको छुट्टै उत्साह थप्थ्यो। तर, पुस्तौँदेखि चल्दै आएको यो परम्परा अहिले लोप हुने अवस्थामा पुगेको छ ।

पुस्तान्तरणको अभावले परम्परा सङ्कटमा
नगारा बजाउने परम्परा हराउँदै जानुको प्रमुख कारण नयाँ पुस्तामा यसको हस्तान्तरण नहुनु र वैदेशिक रोजगारीका लागि युवाहरू गाउँबाट बाहिरिनु रहेको स्थानीयको भनाइ छ। परम्परालाई निरन्तरता दिँदै आएका अग्रजहरू उमेरले अशक्त हुँदै जानु र युवा पुस्ताले पुर्ख्यौली सीप तथा पेसाप्रति चासो नदेखाउनुका कारण यो संस्कृति सङ्कटमा परेको हो ।

औरही नगरपालिका–२ स्थित चमारटोलका ७५ वर्षीय भरोसी महरा चमारले शरीरले साथ दिएसम्म नगारा बजाउँदै आए पनि अब आफ्नो बिँडो थाम्ने व्यक्ति नभएको दुःखेसो पोख्नुभयो।
“जबसम्म शरीरले साथ दियो, तबसम्म ढोल बजाएँ,” उहाँले भन्नुभयो, “अहिलेका छोरा–नाति यो काम गर्न रुचाउँदैनन्, अब कसरी परम्परा जोगिएला?”

युवाहरू रोजगारीका लागि भारत तथा खाडी मुलुक जाने क्रम बढेसँगै गाउँमा परम्परागत सांस्कृतिक अभ्यासलाई निरन्तरता दिने जनशक्तिको समेत अभाव हुँदै गएको छ। यसले नगारा बजाउने चलनलाई मात्र नभई त्यससँग जोडिएको सामुदायिक सहभागिता र सांस्कृतिक पहिचानलाई समेत प्रभावित पारेको छ ।

गाउँबस्तीबाट मन्दिर परिसरमा सीमित
पहिले गाउँका टोलटोलमा पुगेर नगारा बजाउने चलन अहिले क्रमशः हराउँदै गएको छ। यद्यपि, धार्मिक तथा शक्तिपीठहरूमा भने यो परम्परा अझै जीवित छ ।

औरही नगरपालिका–७ स्थित प्रसिद्ध सोनामाई मन्दिरमा दसैँको भूत मेला अवधिभर बिहान र बेलुका नगारा बजाउने गरिन्छ। मन्दिरका पुजारी केदार झाका अनुसार विगतमा गाउँबस्तीमा समेत गुञ्जिने नगारा अहिले मुख्यतः मन्दिर परिसरमा सीमित हुन पुगेको छ ।

गाउँघरमा दसैँको आगमनको सङ्केत दिने नगारा अहिले धार्मिक स्थलमा मात्र सुनिनुले परम्पराको दायरा साँघुरिँदै गएको देखाउँछ। यसको निरन्तरताका लागि नयाँ पुस्तालाई सहभागी गराउनु आवश्यक देखिएको छ ।

सांस्कृतिक पहिचान जोगाउन संरक्षणको खाँचो
मिथिलाका पुराना रीतिरिवाज र मौलिक परम्परा हराउँदै जान थालेपछि स्थानीय ज्येष्ठ नागरिकमा सांस्कृतिक पहिचान नै गुम्ने चिन्ता बढेको छ। ७२ वर्षीय पूर्वशिक्षक सीताशरण यादवका अनुसार पुराना परम्परा क्रमशः मासिँदै जाँदा भावी पुस्ताले आफ्नै संस्कृति र पहिचान बिर्सने जोखिम बढेको छ ।

मैथिली साहित्यकार तथा वरिष्ठ पत्रकार रामभरोस कापडी नगारा बजाउने परम्परालाई मिथिलाको लोकसंस्कृतिको अभिन्न अङ्ग मान्नुहुन्छ। उहाँको सुझावमा समयअनुसार परम्परालाई परिष्कृत र सम्मानजनक बनाउँदै नयाँ पुस्तामा हस्तान्तरण गर्न आवश्यक छ।
स्थानीय सरकार, सांस्कृतिक अभियन्ता र समुदायबीच सहकार्य गरेर नगारा बजाउने परम्पराको अभिलेखीकरण, नयाँ पुस्तालाई सीप हस्तान्तरण तथा सांस्कृतिक कार्यक्रममा यसको प्रयोग बढाउन सकिएमा संरक्षणमा सहयोग पुग्न सक्छ ।

दसैँ केवल धार्मिक अनुष्ठान र पूजाआजामा मात्र सीमित नभई स्थानीय भाषा, भेषभूषा, बाजागाजा र सामुदायिक परम्परासँग पनि जोडिएको चाड हो। त्यसैले मिथिलाको दसैँलाई मौलिकता दिने ‘दसैँके ढोल’ को धुन जोगाउनु एउटा बाजाको संरक्षण मात्र नभई पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक विरासत जोगाउनु पनि हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार