विराटनगर, असोज २७ गते ।
७१ औँ प्रहरी दिवस–२०८३ को अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। विराटनगर महानगरपालिका–९ स्थित पञ्चमुखी हनुमान मन्दिर परिसरमा आयोजित कार्यक्रममा १३६ जनाले रक्तदान गरेका छन् ।
नेपाल प्रहरी अस्पताल इनरुवा, सुनसरी र विराट मेडिकल कलेज टिचिङ हस्पिटल, विराटनगरको प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) शेखर खनालको उपस्थिति रहेको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कवित कटवाल, सशस्त्र प्रहरी बल कंकालिनी गण मोरङका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गहेन्द्र भण्डारीलगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, स्थानीयवासी, सञ्चारकर्मी तथा विभिन्न कलेजका शिक्षक र विद्यार्थीले रक्तदान गरेका थिए ।
यसैगरी, ७१ औँ प्रहरी दिवसकै अवसरमा जिल्ला प्रहरी कार्यालय झापा, इलाम र धनकुटाद्वारा आयोजित रक्तदान कार्यक्रममा थप ७० जनाले रक्तदान गरेका छन्। ती कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।
प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रमले रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै आवश्यक परेको समयमा बिरामीका लागि रगतको सहज उपलब्धतामा सहयोग पुग्ने विश्वास लिइएको छ ।


