काठमाडौं, असोज २७ गते ।
सशस्त्र प्रहरी परिवार महिला संघले भोटेकोशी बाढीबाट प्रभावित सशस्त्र प्रहरी कर्मचारी, उनीहरूका आश्रित परिवार तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई राहत रकम उपलब्ध गराएको छ ।

संघकी अध्यक्ष सावित्रा कुमारी पौडेलले असोज २६ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित कार्यक्रममा राहत रकम हस्तान्तरण गरेकी हुन् ।

भोटेकोशी बाढीमा बहालवाला १३ जना र अवकाशप्राप्त एक जना गरी १४ जना सशस्त्र प्रहरी कर्मचारी बेपत्ता भएका थिए। बाढीमा एक जना अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी घाइते भएका थिए भने दुई जना सशस्त्र प्रहरी कर्मचारीका परिवारका सदस्यसमेत बेपत्ता भएका थिए ।

संघले बेपत्ता भएका बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीका परिवारलाई जनही २५ हजार रुपैयाँका दरले राहत उपलब्ध गराएको छ। त्यस्तै, परिवारका सदस्य बेपत्ता भएका सशस्त्र प्रहरी कर्मचारीलाई जनही १० हजार रुपैयाँ र घाइते अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई १० हजार रुपैयाँ प्रदान गरिएको छ ।

अध्यक्ष पौडेलले बेपत्ता सशस्त्र प्रहरी सहायक हवल्दार कृष्णकुमार कार्की, आशिष पौडेल र जवान साजन कुँवरका परिवारलाई राहत रकम हस्तान्तरण गरेकी छन्। त्यसैगरी, अवकाशप्राप्त सशस्त्र प्रहरी सहायक निरीक्षक बलबहादुर घर्ती मगरका परिवार तथा परिवारका सदस्य बेपत्ता भएका दुई महिला सशस्त्र प्रहरी कर्मचारीलाई पनि राहत रकम उपलब्ध गराइएको छ ।

बेपत्ता भएका अन्य सशस्त्र प्रहरी कर्मचारीका परिवारलाई समेत भेट गरी राहत रकम प्रदान गरिने संघले जनाएको छ।
यसैबीच, संघकी अध्यक्ष पौडेलले सशस्त्र प्रहरी बल नेपालको विपद् कोषमा जम्मा गर्ने उद्देश्यले ५० हजार ५ सय ५५ रुपैयाँ सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अञ्जनीकुमार पोखरेललाई हस्तान्तरण गरेकी छन् ।

सशस्त्र प्रहरी परिवार महिला संघले महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले विभिन्न आयमूलक गतिविधि सञ्चालन गर्दै आएको छ। ती गतिविधिबाट संकलित रकमबाटै बाढीपीडितलाई राहत उपलब्ध गराइएको संघले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार