गाैशाला, कार्तिक २९ गते ।
अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्न घाटमा उर्लिएको जनसागर, पूजाका सामग्रीले सजिएका बाँसका डालो, छठी माताका भक्तिगीत र दीपको झिलिमिली। आइतबार साँझ मिथिलाञ्चलका नदी, पोखरी तथा जलाशयका घाटहरू यस्तै भक्तिमय दृश्यले छपक्कै ढाकिएका थिए ।
लोकआस्थाको महापर्व छठको मुख्य दिन तराई–मधेश लगायत देशैभरि गाउँदेखि सहरसम्म उत्साह र उमङ्ग छाएको थियो । दिउँसैदेखि व्रतालु तथा श्रद्धालुहरू पूजासामग्री बोकेर घाट पुग्न थालेपछि छठघाटहरूमा चहलपहल बढेको थियो । साँझ पर्दै जाँदा घाटमा भक्तजनको उपस्थिति बाक्लिँदै गयो।
महोत्तरीको गाैशाला, औरही, रामगोपाल, जलेश्वर, मटिहानी लगायतका स्थानहरूमा विभिन्न नदि, पोखरी तथा जलाशयमा निर्माण गरिएका छठघाट पनि व्रतालु र श्रद्धालुहरूले भरिएका थिए । कसैले सन्तानको दीर्घायुको कामना गरिरहेका थिए भने कसैले परिवारको सुख, शान्ति र समृद्धिका लागि सूर्यदेव तथा छठी माताको आराधना गरिरहेका थिए ।
प्रसादका सामाग्रीहरु ठकुवा, भुसुवा, नरिवल, उखु, केरा तथा विभिन्न फलफूलले सजिएका बाँसका ढाकी र सुपली घाटमा आकर्षणको केन्द्र बनेका थिए । छठका परम्परागत गीतले वातावरणलाई थप भावुक र भक्तिमय बनाएको थियो ।
चार दिनसम्म विभिन्न विधि र परम्पराअनुसार मनाइने छठ पर्वको मुख्य दिन व्रतालुहरूले दिनभरि निराहार रहेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका हुन् । सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको छठ पर्व विधिवत् सम्पन्न हुनेछ ।
छठ केवल धार्मिक अनुष्ठानमा सीमित छैन। यो प्रकृतिप्रतिको सम्मान, परिवारप्रतिको समर्पण र सामाजिक एकताको जीवन्त उत्सव पनि हो। जात, वर्ग र समुदायको सीमाभन्दा माथि उठेर सबैलाई एउटै घाटमा जोड्ने यस पर्वले मिथिलाञ्चलको मौलिक संस्कृति र सामाजिक सद्भावलाई जीवन्त राख्दै आएको छ ।

