जनकपुरधाम: नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच सिधा रेल सेवा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। रामायणकालीन धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यसहित सञ्चालन गर्न लागिएको नयाँ वन्दे भारत एक्सप्रेस रेल सेवाको उद्घाटन आगामी मंसिर ७ गते हुने भएको छ।
भारतको प्रेस इन्फर्मेसन ब्युरो (पीआईबी) दिल्लीले जारी गरेको सूचनाअनुसार भारतीय रेल मन्त्रालयले जनकपुरधाम–अयोध्याबीच नयाँ साप्ताहिक रेल सेवा सञ्चालनका लागि औपचारिक स्वीकृति प्रदान गरेको छ।
माता सीताको जन्मस्थल जनकपुरधाम र भगवान् श्रीरामको जन्मस्थल अयोध्यालाई जोड्ने यस रेल सेवाले नेपाल तथा भारतबीचको धार्मिक पर्यटन र सांस्कृतिक सम्बन्धलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ।
करिब ४६४ किलोमिटर दूरी तय गर्ने रेलले बिहार र उत्तर प्रदेशका विभिन्न प्रमुख सहर हुँदै जनकपुरधामलाई अयोध्या क्यान्टसम्म जोड्नेछ। निर्धारित तालिकाअनुसार जनकपुरधामबाट प्रत्येक शनिबार र अयोध्या क्यान्टबाट प्रत्येक सोमबार रेल छुट्नेछ।
रेल सेवाका लागि जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागन्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धामलगायतका स्थानमा व्यावसायिक बिसौनी रहनेछन्।
यसैबीच, रेल सेवा शुभारम्भको मिति पनि तय भएको छ। उत्तर रेलवे, लखनउ मण्डल रेल प्रबन्धक कार्यालयले जारी गरेको निमन्त्रणापत्रअनुसार आगामी नोभेम्बर २३ अर्थात् मंसिर ७ गते अयोध्या रेलवे स्टेसनमा विशेष कार्यक्रम आयोजना गरिनेछ।
उक्त कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले हैदराबाद हाउसबाट भिडियो कन्फरेन्समार्फत सहभागी भई रेल सेवाको संयुक्त उद्घाटन गर्ने कार्यक्रम रहेको निमन्त्रणापत्रमा उल्लेख छ।
नयाँ रेल सेवा सञ्चालनमा आएपछि जनकपुरधाम र अयोध्याबीच आवतजावत गर्ने तीर्थयात्री तथा पर्यटकलाई सहज हुने अपेक्षा गरिएको छ। यसले भारतको रामायण सर्किट अवधारणाअन्तर्गत धार्मिक पर्यटन प्रवर्द्धन गर्नुका साथै शिक्षा, स्वास्थ्य उपचार, व्यापार तथा पारिवारिक भेटघाटका लागि सीमापार यात्रा गर्ने सर्वसाधारणलाई समेत सुविधा पुग्ने विश्वास गरिएको छ।
त्यस्तै, रेल सेवाबाट मधेश प्रदेशसहित भारतको बिहार र उत्तर प्रदेशका सीमावर्ती क्षेत्रको पर्यटन, व्यापार तथा स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

