सुनसरी, कार्तिक ३० गते ।
सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित छठपूजास्थलमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेमा हरिनगर गाउँपालिका–६ निवासी १९ वर्षीय रिजवान मन्सुरी र २१ वर्षीय मोहम्मद जहुर मियाँ रहेका छन् ।
छठ पूजा सम्पन्न गरी व्रतालु तथा भक्तजनहरू घर फर्किएपछि अपरिचित व्यक्तिहरूले पूजास्थलमा तोडफोड गरेको घटना सार्वजनिक भएको थियो। घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।
तोडफोडका कारण क्षति पुगेको छठपूजास्थल पुनर्निर्माण गरी पुरानै अवस्थामा ल्याइएको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


