गौशाला: उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै तराई–मधेशसहित देशभर चार दिनसम्म श्रद्धा, आस्था, निष्ठा र भक्तिपूर्वक मनाइएको छठ पर्वको विधिवत् समापन भएको छ ।
छठ पर्वको अन्तिम दिन आज बिहानैदेखि व्रतालुहरू नदी, तलाउ, पोखरी तथा विभिन्न जलाशयका घाटमा पुगेर उदाउँदो सूर्यदेवलाई अर्घ अर्पण गरेका छन्। बिहानको शीतलहर र चिसो मौसमको प्रवाह नगरी व्रतालुहरू परिवारका सदस्य तथा आफन्तजनसँगै घाटमा उपस्थित भई विधिपूर्वक पूजा आराधना गरेका थिए ।
छठको मुख्य आकर्षणका रूपमा रहेको उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्ने परम्परासँगै घाटहरूमा श्रद्धालुहरूको उल्लेख्य उपस्थिति देखिएको थियो। व्रतालुहरूले बाँसका सुप, नाङ्लो तथा अन्य भाँडामा सजाएर राखिएका ठेकुवा, भुसुवा, फलफूल, नरिवल, उखु, अदुवा, बेसारलगायतका प्रसाद सूर्यदेवलाई अर्पण गरेका थिए। यस क्रममा परिवारका सदस्यहरूले समेत पूजामा सहभागी भई व्रतालुहरूलाई सहयोग गरेका थिए ।
चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन नहाय–खायबाट सुरु भएको छठको दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ र चौथो तथा अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्ने परम्परा रहेको छ। कठोर नियम, उपवास, शुद्धता र निष्ठासहित मनाइने यस पर्वमा व्रतालुहरूले आफ्नो परिवारको सुख, शान्ति, समृद्धि, दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्ने गर्छन् ।
छठ पर्वले प्रकृति र मानवबीचको सम्बन्धलाई समेत उजागर गर्दै सूर्य तथा जलप्रति कृतज्ञता प्रकट गर्ने सन्देश दिएको छ। सूर्यलाई जीवन, ऊर्जा र शक्तिको स्रोतका रूपमा पूजा गरिने यस पर्वमा उदाउँदो र अस्ताउँदो दुवै सूर्यलाई समान श्रद्धाका साथ अर्घ अर्पण गरिन्छ ।
यस पर्वको अवसरमा तराई–मधेशका गाउँदेखि सहरसम्मका नदी, पोखरी तथा जलाशयका घाटहरू आकर्षक रूपमा सजाइएका थिए। घाटमा झिलिमिली बत्ती, केराका बोट, फूलमाला र पूजाका सामग्रीले उत्सवमय वातावरण सिर्जना गरेका थिए। छठ गीत, भजन तथा लोकसंस्कृतिका धुनले पर्वको धार्मिक र सांस्कृतिक महत्त्वलाई थप जीवन्त बनाएको थियो ।
छठ पर्व केवल धार्मिक अनुष्ठानमा सीमित नभई पारिवारिक एकता, सामाजिक सद्भाव, आपसी सहयोग र सांस्कृतिक पहिचानको प्रतीकका रूपमा समेत स्थापित छ। जातजाति, समुदाय र वर्गको भेदभावभन्दा माथि उठेर सबैले एकै घाटमा सहभागी भई मनाउने यस पर्वले सामाजिक एकता र सहअस्तित्वको सन्देश प्रवाह गरेको छ ।
उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै व्रतालुहरूले छठ पर्वको समापन गरेका छन्। पर्व सम्पन्न भएसँगै घाटमा पूजा गर्न पुगेका श्रद्धालुहरू प्रसाद ग्रहण तथा वितरण गर्दै घर फर्किएका छन्। यससँगै चार दिनसम्म छठमय बनेको तराई–मधेश पुनः आफ्नो नियमित दैनिकीमा फर्किएको छ ।

