जनकपुरधाम, कार्तिक ३० गते ।
धनुषाको मिथिला नगरपालिका–१, ढल्केवरमा २२ वर्षीय एक युवक घरपछाडिको फूलबारीमा मृत अवस्थामा फेला परेका छन्।
मृत्यु हुनेमा वैद्यनाथ महतोका छोरा अमरेश कुमार महतो रहेका छन्। उनी सोमबार बिहान आफ्नै घरपछाडिको फूलबारीमा मृत फेला परेको प्रहरीले जनाएको छ ।
घटनापछि मृतकका परिवारले उनको मृत्यु शंकास्पद रहेको भन्दै हत्या भएको आशंका व्यक्त गरेका छन्। परिवारका अनुसार मृतकको कपडामा माटो लागेको र झुण्डिन प्रयोग गरिएको भनिएको डोरीसमेत घरको नभएको पाइएको छ। यी अवस्थाले घटना थप शंकास्पद बनेको परिवारको भनाइ छ ।
घटनाको अनुसन्धानका लागि प्रहरीले तालिमप्राप्त कुकुरसमेत परिचालन गरेको छ। प्रहरीले घटनास्थलको अवस्था र अन्य प्रमाण संकलन गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।
मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको वास्तविक कारण खुल्ने प्रहरीले जनाएको छ।
घटना आत्महत्या हो वा अन्य कुनै कारणले मृत्यु भएको हो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

