बझाङ: बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा परी मृत्यु हुनेमा एकै ठाउँका चार महिला तथा बालिका रहेका छन्। घटनामा संलग्न अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार २०८३ कात्तिक ३० गते बिहान करिब १०ः२० बजे टुमेडा गाउँबाट बुङ्गल नगरपालिका–११ स्थित हिड्नेगडा बजारतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ह ७९९८ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ९०० मिटर तल भिरमा खसेको थियो। अटोको ब्रेक फेल भएपछि दुर्घटना भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर उद्धार तथा खोजी कार्य सुरु गरेको थियो। सुरुमा तीन जनाको शव फेला परेकोमा थप खोजी गर्ने क्रममा अन्दाजी चार वर्षीया रियास महराको शवसमेत फेला परेपछि मृत्यु हुनेको संख्या चार पुगेको हो ।

दुर्घटनामा बुङ्गल नगरपालिका–१० निवासी अन्दाजी ३५/४० वर्षीया राजमति महरा, १५/१६ वर्षीया तारा महरा, ५/६ वर्षीया डल्ली महरा र अन्दाजी चार वर्षीया रियास महराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार