गाैशाला: क्षिण तथा पश्चिम-मध्य बंगालको खाडीमा ‘अक्वान’ नामको शक्तिशाली चक्रवात विकसित भएको छ। भारतको मौसम विज्ञान विभागले यो चक्रवात आगामी दिनमा अझ शक्तिशाली बन्न सक्ने पूर्वानुमान गरे पनि नेपालमा भने यसको प्रत्यक्ष प्रभाव नपर्ने मौसमविद्हरूले बताएका छन्।
भारतको मौसम विज्ञान विभागका अनुसार नोभेम्बर १७ (मंसिर १) साँझसम्म चक्रवात तीव्र आँधीमा परिणत हुने र नोभेम्बर १९ सम्म अत्यन्त गम्भीर चक्रवाती आँधीको रूप लिन सक्ने सम्भावना छ।
चक्रवात नोभेम्बर २० को दिउँसो भारतको आन्ध्र प्रदेशस्थित नेल्लोर र टुनी तथा यानम क्षेत्रको बीचबाट तटीय क्षेत्रमा प्रवेश गर्न सक्ने अनुमान गरिएको छ। त्यसबेला हावाको गति प्रतिघण्टा १२० देखि १३० किलोमिटर पुग्ने र अधिकतम वेग १४५ किलोमिटरसम्म पुग्न सक्ने भारतीय मौसम विभागले जनाएको छ।
इरानले नामकरण गरेको ‘अक्वान’ चक्रवातको प्रभावका कारण नोभेम्बर २२ सम्म भारतका विभिन्न क्षेत्रमा वर्षा हुने अनुमान गरिएको छ।
नेपालमा कस्तो प्रभाव पर्छ?
नेपालमा भने उक्त चक्रवातको प्रभाव पर्ने सम्भावना हालसम्म नदेखिएको मौसमविद्हरूले स्पष्ट पारेका छन्।
नेपालको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् माधवी सिग्देलका अनुसार हालसम्म गरिएको अध्ययन तथा विश्लेषणले ‘अक्वान’ चक्रवातका कारण नेपालमा मौसम प्रभावित हुने संकेत देखाएको छैन। सबै चक्रवातको प्रभाव नेपालसम्म नआइपुग्ने भएकाले यसबाट तत्काल चिन्ता लिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ।
नेपालको आगामी पाँच दिनको मौसम पूर्वानुमान
मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मंसिर १ देखि ५ गतेसम्मको मौसम प्रक्षेपणअनुसार देशका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने देखिएको छ।
कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ। कोसी र गण्डकी प्रदेशका केही हिमाली तथा पहाडी स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।
मधेस प्रदेशसहित तराईका अधिकांश क्षेत्रमा मौसम सामान्यतया सफा रहने भए पनि बिहानको समयमा तराई, उपत्यका तथा खोँचका केही स्थानमा हुस्सु र कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ।
आगामी दिनमा पनि देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने र तराई क्षेत्रमा बिहानको समयमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको मौसम पूर्वानुमानमा उल्लेख छ।

