तनहुँ: तनहुँको आँबुखैरेनी गाउँपालिका–३ कुँडुलेघाटस्थित मस्याङ्दी नदीमा अवैध रूपमा बालुवा उत्खनन गर्ने एक ट्र्याक्टर र एक जेसीबीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मंगलबार इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरी टोलीले नदी किनारमा अनुमति नलिई बालुवा उत्खनन गरिरहेको अवस्थामा दुवै सवारीसाधन नियन्त्रणमा लिएको हो ।
प्रहरीले नियन्त्रणमा लिएका सवारीसाधनलाई आवश्यक कारबाहीका लागि आँबुखैरेनी गाउँपालिकाको कार्यालयमा बुझाएको थियो। गाउँपालिकाले ट्र्याक्टरलाई २० हजार रुपैयाँ र जेसीबीलाई ३० हजार रुपैयाँ जरिवाना गरेको छ। दुवै सवारीसाधनलाई गरी कुल ५० हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेले नदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसारपसार नियन्त्रण गर्न प्रहरी सक्रिय रहेको बताएका छन् ।
नदीजन्य पदार्थको अवैध दोहन रोक्न प्रहरीले निगरानी र कारबाहीलाई निरन्तरता दिने जनाएको छ ।

