गौशाला: महोत्तरीको गौशाला नगरपालिका–स्थित मल्हनियाँ पोखरीमा छठ पर्वको अवसरमा आयोजित छठ पूजा विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

गौशाला बहुसांस्कृतिक कला केन्द्रको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय कला, संस्कृति र परम्पराको झल्को प्रस्तुत गरिएको थियो। कार्यक्रममा विभिन्न कलाकार तथा सहभागीहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि गौशाला नगरपालिकाका नगरप्रमुख डा. दिपेन्द्र कुमार महतो र विशिष्ट अतिथि नगर उपप्रमुख रेणु महतो रहेका थिए। त्यस्तै, वडा नं. १ र ४ का वडाध्यक्ष, समाजसेवी, बुद्धिजीवी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको आयोजकले जनाएको छ ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने छठ पूजा समिति, स्थानीय सहयोगी, प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने महानुभाव, कलाकार, सहभागी तथा दर्शकप्रति आयोजक गौशाला बहुसांस्कृतिक कला केन्द्रले धन्यवाद व्यक्त गरेको छ ।

केन्द्रले कला, संस्कृति र मौलिक परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ। साथै, आगामी दिनमा पनि यस्ता सांस्कृतिक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार