काठमाडौं: रुसको दक्षिणपश्चिमी साइबेरियामा रुसी सेनाको यातायात विमान दुर्घटना हुँदा विमानमा सवार सबै १९ जनाको मृत्यु भएको छ।

मंगलबार भएको दुर्घटनामा रुसी सेनाले प्रयोग गर्दै आएको ‘एएन–१२’ विमान दुर्घटनाग्रस्त भएको हो। विमान उडिरहेका बेला अचानक जमिनमा खसेर आगलागी भएको रुसी सञ्चारमाध्यमले जनाएका छन्।

रुसी सञ्चारमाध्यम ‘इजवेस्टिया’का अनुसार विमान मानव बस्ती नभएको क्षेत्रमा खसेको थियो। दुर्घटनाको वास्तविक कारण भने अझै खुल्न सकेको छैन।

सरकारी समाचार संस्था ‘आरआईए’ले रुसको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै प्रारम्भिक अनुसन्धानमा प्राविधिक खराबीका कारण दुर्घटना भएको हुन सक्ने जनाएको छ।

दुर्घटनाको दृश्य सीसीटीभी फुटेजमा समेत कैद भएको बताइएको छ। घटनाबारे रुसी अधिकारीहरूले थप अनुसन्धान गरिरहेका छन्।

एएन–१२ विमान रुसी सेनाले सैनिक कर्मचारी, हतियार, गोलीगट्ठा तथा अन्य सैन्य सामग्री ओसारपसारका लागि प्रयोग गर्दै आएको थियो।

स्रोत : [CNN]

प्रतिक्रिया

सम्बन्धित समाचार