काठमाडौं: प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।

सरकारले जिम्मेवारीमुक्त गरेपछि कार्कीले गत कात्तिक २० गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। तिहार बिदाका कारण रिटको सुनुवाइका लागि सुरुमा कात्तिक ३० गते पेसी तोकिएको थियो। तर, छठ पर्वको सार्वजनिक बिदा थपिएपछि सुनुवाइ बुधबारका लागि सारिएको हो।

गत कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाउँदै एआईजी मनोज केसीलाई नयाँ प्रहरी प्रमुख नियुक्त गरेको थियो।

कार्कीले आफूलाई जिम्मेवारीमुक्त गर्ने सरकारको निर्णय कानुनविपरीत रहेको दाबी गर्दै सर्वोच्चमा रिट दिएका हुन्। रिटमा आफूलाई पदबाट हटाउँदा कार्यसम्पादन, आचरण, क्षमता वा योग्यतासम्बन्धी कुनै कमजोरी तथा आरोपसमेत उल्लेख नगरिएको जिकिर गरिएको छ।

साथै, एआईजी मनोज केसीलाई प्रहरी प्रमुखमा नियुक्त गर्ने, दर्ज्यानी चिह्न प्रदान गर्नेलगायत सरकारका निर्णय कार्यान्वयनमा रोक लगाउन पनि कार्कीले माग गरेका छन्। अब सर्वोच्च अदालतको सुनुवाइपछि यस विषयमा थप कानुनी प्रक्रिया अघि बढ्नेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार