काठमाडौं: प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भएको भेटमा नेपाल–भारत सम्बन्ध र प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका विषयमा छलफल भएको हो।

भेटका क्रममा प्रधानमन्त्री शाहले राजदूत दलेलालाई नेपालका लागि राजदूत नियुक्त हुनुभएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। साथै, रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो।

प्रधानमन्त्री शाहले आफ्नो आसन्न भारत भ्रमणको तयारीबारे राजदूत दलेलासँग जानकारी लिनुभएको थियो। जवाफमा राजदूत दलेलाले प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने बताउनुभयो।

राजदूत दलेलाले प्रधानमन्त्रीको भारत भ्रमणका एजेन्डा तय भइसकेको जानकारी दिँदै भ्रमणलाई थप उपलब्धिमूलक बनाउन दुवै देशका सम्बन्धित निकायबीच तीव्र रूपमा गृहकार्य भइरहेको बताउनुभयो।

भेटमा नेपाल र भारतबीच रहिआएको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार