सर्लाही: सर्लाहीको धनकौल गाउँपालिका–२ तेल बजारमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी एक महिलाको उपचार अभावमा घरमै मृत्यु भएको छ।

मृत्यु हुनेमा धनकौल गाउँपालिका–२ निवासी बिदेनी साहकी श्रीमती करिब ४५ वर्षीया बच्ची देवी (पसिया देवी) रहेकी छन्।

प्रहरीका अनुसार गत कात्तिक २९ गते साँझ करिब ७ः१५ बजे तेल बजारबाट हरकटवातर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकलले पैदल हिँडिरहेकी बच्ची देवीलाई पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटनामा उनको टाउकोमा गम्भीर चोट लाग्नुका साथै बायाँ खुट्टासमेत भाँचिएको थियो।

दुर्घटनापछि उनलाई उपचारका लागि वीरगञ्ज लगिएको थियो। सुरुमा न्युरो अस्पताल र त्यसपछि नारायणी अस्पतालमा उपचार गराइएको थियो। स्वास्थ्य अवस्था गम्भीर भएपछि मंसिर १ गते थप उपचारका लागि एनएमसी अस्पताल पुर्‍याइए पनि आर्थिक अवस्था कमजोर भएका कारण उपचारलाई निरन्तरता दिन नसकिएको बताइएको छ। त्यसपछि उनलाई सोही दिन घर फर्काइएको थियो।

घरमै रहेकी बच्ची देवीको मंसिर २ गते राति करिब ९ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय हरकटवाबाट खटिएको टोलीले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको थियो।

प्रहरीले शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाएको थियो। पोस्टमार्टमपछि मंसिर ३ गते दिउँसो १ बजे मृतककी बुहारी रिता देवीले शव बुझेर लगेको प्रहरीले जनाएको छ।

दुर्घटना गराएर फरार रहेको मोटरसाइकल र चालकको पहिचान तथा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार