गाैशाला: महोत्तरीको गौशाला नगरपालिका–१ सानो कुशमाडीस्थित एक उखुबारीमा ६५ वर्षीया महिलाको शव फेला परेको छ। स्थानीय विणामाया पुलामी शुक्रबार बिहान मृत अवस्थामा भेटिएकी हुन् ।
प्राप्त जानकारीअनुसार पुलामी बिहीबार घाँस काट्न घरबाट निस्किएकी थिइन्। तर, साँझसम्म घर नफर्किएपछि उनको खोजी भइरहेको थियो। सोही क्रममा शुक्रबार बिहान उखुबारीभित्र उनको शव फेला परेको हो ।
घटनास्थलको प्रारम्भिक अवस्था हेर्दा महिलाको हत्या भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ। इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मधुसुदन विश्वकर्माका अनुसार मृतकको घाँटीमा गम्छा कसिएको जस्तो देखिएकाले हत्या भएको आशंकामा अनुसन्धान अघि बढाइएको छ।
घटनाको गम्भीरतापूर्वक अनुसन्धान गर्न प्रहरी नायब उपरीक्षक (डीएसपी) सहितको टोली घटनास्थल पुगेको छ। प्रहरीले तालिमप्राप्त कुकुरसमेत परिचालन गरी घटनास्थलबाट प्रमाण संकलन तथा सम्भावित संलग्न व्यक्तिको खोजी गरिरहेको जनाएको छ।
महिलाको मृत्यु कसरी भयो र घटनामा कसको संलग्नता छ भन्ने विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ। शव परीक्षण तथा थप अनुसन्धानपछि घटनाको वास्तविक कारण खुल्ने प्रहरीले जनाएको छ।

