जनकपुरधाम, मंसिर ४ गते ।
बालबालिकाको अधिकार संरक्षण, सहभागिता अभिवृद्धि तथा नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले मधेश प्रदेशको राजधानी जनकपुरधाममा दुईदिने प्रदेशस्तरीय बाल भेला तथा बाल क्लब सञ्जाल गठन र क्षमता विकाससम्बन्धी कार्यशाला सुरु भएको छ।
‘बालापनको रक्षा, भविष्यको सुरक्षा’ भन्ने मूल नाराका साथ मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा मंसिर ४ र ५ गते कार्यशाला सञ्चालन भइरहेको हो।
कार्यक्रमको उद्घाटन सत्रमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधेश प्रदेशकी निमित्त मुख्यसचिव पार्वती शर्मा प्रमुख अतिथिका रूपमा सहभागी थिइन्। कार्यक्रममा प्लान इन्टरनेसनलकी प्रतिनिधि काजल झा, सेभ द चिल्ड्रेनका मकर सार्की तथा युनिसेफ नेपालका अशोक झाको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता मन्त्रालयका सचिव सुनील कुमार साहले गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शर्माले बालबालिका राष्ट्रको भविष्य मात्र नभई वर्तमानका महत्वपूर्ण साझेदारसमेत रहेको बताइन्। बालबालिकाको अधिकार सुनिश्चित गर्नु, उनीहरूको विचार र भावनाको सम्मान गर्नु तथा राज्यका निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता गराउनु सरकारको महत्वपूर्ण दायित्व भएको उनको भनाइ थियो।
उनले बालबालिकाको क्षमता तथा नेतृत्व विकासका लागि बाल क्लब र बाल सञ्जाललाई प्रभावकारी माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै बालबालिकालाई आफ्ना अधिकारप्रति सचेत बनाउँदै समाजमा सकारात्मक परिवर्तनका संवाहकका रूपमा अघि बढाउनुपर्ने बताइन्।
त्यस्तै, कार्यक्रमका अध्यक्ष तथा मन्त्रालयका सचिव साहले बालबालिकाको सर्वाङ्गीण विकासका लागि सुरक्षित, सम्मानजनक र सहभागितामूलक वातावरण निर्माण गर्न आवश्यक रहेको बताए। बालबालिकाको क्षमता पहिचान, नेतृत्व विकास तथा आफ्ना समस्या र विचार खुलेर राख्न सक्ने वातावरण बनाउन बाल क्लब र सञ्जालको महत्वपूर्ण भूमिका रहने उनले उल्लेख गरे।
बाल अधिकार संरक्षणका लागि सरकार, नागरिक समाज, विकास साझेदार संस्था तथा सम्बन्धित सरोकारवाला निकायबीच सहकार्य र समन्वय आवश्यक रहेको उनको भनाइ थियो।
दुई दिनसम्म सञ्चालन हुने कार्यशालामा प्रदेशस्तरीय बाल क्लब सञ्जाल गठन, बालबालिकाको क्षमता विकास, नेतृत्व सीप अभिवृद्धि तथा बाल अधिकारका विभिन्न विषयमा छलफल र अन्तरक्रिया गरिने आयोजकले जनाएको छ।
कार्यशालामार्फत बालबालिकालाई संगठित गर्दै उनीहरूको आवाज स्थानीय तहदेखि प्रदेशस्तरसम्म पुर्याउने तथा बाल अधिकार संरक्षणका अभियानमा सक्रिय सहभागिता सुनिश्चित गर्ने लक्ष्य राखिएको छ।
कार्यक्रममा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय तथा राष्ट्रिय बाल अधिकार परिषद्ले समन्वय गरेका छन्। साथै युनिसेफ नेपाल, सेभ द चिल्ड्रेन, प्लान इन्टरनेसनल, वर्ल्ड भिजन, सबल नेपाल, ज्वास र बागमती सेवा समाजलगायत संस्थाले सहयोग गरेका छन्।
यस कार्यशालाले मधेश प्रदेशमा बाल अधिकार संरक्षण, बाल सहभागिता अभिवृद्धि तथा बाल क्लब सञ्जाललाई संस्थागत र थप सशक्त बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ।

