जनकपुरधाम, मंसिर ९ गते ।
धनुषामा गुडिरहेको ट्याक्टरबाट खसेर पछाडिको चक्काले किच्दा एक बालकको ज्यान गएको छ।
मृत्यु हुनेमा हंसपुर नगरपालिका–९ रुदौलीका १४ वर्षीय जिसान्त कुमार मण्डल रहेका छन्।
मंगलबार दिउँसो कमला नगरपालिका–२ सराबेस्थित हुलाकी सडकमा ट्याक्टर पछाडि सार्ने क्रममा मण्डल अचानक खसेका थिए। ट्याक्टरबाट खसेलगत्तै पछाडिको चक्काले उनको टाउकोमा किच्दा उनी गम्भीर घाइते भएका थिए।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता ओमप्रकाश खनालका अनुसार मधेश प्रदेश ०२–००१ त ३१९९ नम्बरको ट्याक्टरमा सवार रहेका मण्डल दुर्घटनामा परेका हुन्।
दुर्घटनालगत्तै प्रहरीले उनलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याएको थियो। तर, उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
मृतकको शव अस्पतालको शवगृहमा राखिएको छ। प्रहरीले दुर्घटनामा संलग्न ट्याक्टर र चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

