गाैशाला: महोत्तरीमा प्रमुख जिल्ला अधिकारीका रूपमा जिम्मेवारी सम्हालिसकेका सहसचिव इन्द्रदेव यादवलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले मन्त्रीस्तरीय निर्णय गर्दै यादवलाई उक्त जिम्मेवारी प्रदान गरेका हुन्। यसअघि महोत्तरीको प्रमुख जिल्ला अधिकारी रहेका यादव गत मंसिर ४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार अर्थ मन्त्रालयमा सरुवा भएका थिए।
प्रशासनिक क्षेत्रमा लामो अनुभव हासिल गरेका यादवले यसअघि विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी निर्वाह गरिसकेका छन्।
विभागका तत्कालीन महानिर्देशक निर्मल ढकाललाई वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएपछि रिक्त रहेको पदमा यादवलाई जिम्मेवारी दिइएको हो।
नेपाललाई अन्तर्राष्ट्रिय वित्तीय निगरानी निकायको ग्रे लिस्टबाट बाहिर निकाल्नुपर्ने चुनौतीपूर्ण समयमा यादवले विभागको नेतृत्व सम्हाल्ने अवसर पाएका छन्। उनको नेतृत्वमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान तथा वित्तीय अपराध नियन्त्रणका कामलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
यसैबीच, अर्थ मन्त्रालयले सहसचिव नीता शर्मालाई महालेखा नियन्त्रक कार्यालयमा खटाउने निर्णयसमेत गरेको छ।

