बेलौरी (कञ्चनपुर), मंसिर ११ गते ।
सशस्त्र प्रहरी बल नेपालले कञ्चनपुरको बेलौरी नगरपालिका–१ स्थित फटिया सीमा क्षेत्रबाट १ लाख ३३ हजार ४ सय रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल, फर्वार्ड अपरेटिङ बेस (एफओबी) कार्गिलडाँडाबाट खटिएको सीमा पैदल गस्ती टोलीले बिहीबार बिहान करिब ८ बजे भारतबाट भन्सार छली अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा उक्त सामान नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी नायब निरीक्षक मोहन देव पन्तको कमाण्डमा खटिएको पाँच सदस्यीय गस्ती टोलीले काँचो केरा, सिद्रा माछा, ड्यु पेय पदार्थ र सुर्ती बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएका सामानमध्ये नष्ट गर्नुपर्ने प्रकृतिका सामग्री नष्ट गरिएको छ भने बाँकी सामान आवश्यक कानुनी प्रक्रियाका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ।

