तनहुँ, मंसिर १२ गते ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ डम्पिङस्थित पृथ्वी राजमार्गबाट भिरमा खसेर एक १५ वर्षीय विद्यार्थी बेपत्ता भएका छन्। बेपत्ता हुनेमा चितवनको भरतपुर महानगरपालिका–६ चोकबजार निवासी अंकित गुरुङ रहेका छन्।
कक्षा ९ मा अध्ययनरत गुरुङ पारिजात माध्यमिक विद्यालय, भरतपुरको शैक्षिक भ्रमण टोलीसँगै पोखराबाट चितवन फर्किने क्रममा उक्त घटना भएको हो।
प्रहरीका अनुसार शुक्रबार साँझ करिब ६ः१० बजे बस रोकेपछि पिसाब फेर्न सडक छेउतर्फ जाने क्रममा उनी करिब ५० देखि ६० मिटर तल भिरमा खसेका थिए।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक प्रदीप सुवेदीको कमाण्डमा १० जना प्रहरीको टोली घटनास्थलमा खटिएको छ।
हाल बेपत्ता विद्यार्थीको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। थप खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समेत समन्वय भइरहेको छ।

