गाैशाला: महोत्तरीको बलवा नगरपालिका–७ बनौटामा तीन महिनाअघि भएको युवकको विभत्स हत्या घटनाका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। घटनापछि फरार रहेका ३४ वर्षीय जितेन्द्रकुमार ठाकुरलाई प्रहरीले जलेश्वरबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टका अनुसार भङ्गहा नगरपालिका–६ निवासी २२ वर्षीय विवेककुमार सरदारको हत्या गरेको आरोपमा ठाकुरलाई पक्राउ गरिएको हो। उनलाई बिहीबार साँझ जलेश्वर नगरपालिका–३ स्थित नेपाल–भारत सीमा नाका मलिवाडामा हिँडडुल गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

यस घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि नै चार जनालाई पक्राउ गरिसकेको थियो। पक्राउ पर्नेमा मुख्य अभियुक्त ठाकुरका बुबा ५८ वर्षीय अशोककुमार ठाकुर, आमा ५० वर्षीया रामकली देवी, श्रीमती २२ वर्षीया सोनुकुमारी ठाकुर र महोत्तरी गाउँपालिका–५ निवासी २८ वर्षीय सियाराम शर्मा रहेका छन्।

प्रहरीका अनुसार मृतक विवेक भदौ १५ गते जलेश्वर नगरपालिका–११ पिगौनास्थित दिदीको घरबाट बा ३१ प ६१३८ नम्बरको मोटरसाइकल चढेर आफ्नो घर भङ्गहा जाने क्रममा बेपत्ता भएका थिए। परिवारले भदौ १६ गते जिल्ला प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका थिए।

प्रहरीले खोजतलास तथा अनुसन्धान गर्ने क्रममा भदौ २६ गते उनको शव टुक्राटुक्रा पारेर सेफ्टी ट्याङ्कीभित्र राखिएको अवस्थामा फेला पारेको थियो। हत्या गरेपछि शवलाई फलामको दाउले नौ टुक्रा पारिएको र प्रमाण लुकाउने उद्देश्यले सेफ्टी ट्याङ्कीमा राखेर माथिबाट सिमेन्ट र बालुवाले प्लास्टर गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक भट्टका अनुसार पक्राउ परेकी सोनुकुमारी र मृतक विवेकबीच प्रेम सम्बन्ध रहेको अनुसन्धानका क्रममा खुलेको छ। सोही सम्बन्धका कारण योजनाबद्ध रूपमा विवेकलाई घरमा बोलाएर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

घटनापछि मुख्य अभियुक्त जितेन्द्र फरार रहँदै आएका थिए। उनको पक्राउसँगै घटनाको थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार