जनकपुरधाम : मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री नियुक्त गर्न आह्वान गरेको हाे ।
मधेश प्रदेशका प्रदेश प्रमुख माननीय हरिशंकर मिश्रले निर्वाचन आयोगबाट प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को निर्वाचन परिणाम सहितको प्रतिवेदन प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम मिति २०७९/९/२ मा पेश हुन आएकोमा प्राप्त निर्वाचन परिणामबाट मुख्यमन्त्री नियुक्ति गर्नको लागि नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएका कारण सातदिनभित्र दावी पेश गर्न आह्वान गरेका हुन ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि मिति २०७९/९/२८ गते बिहिवार बेलुकी ४:०० बजे भित्र दाबी पेस गर्न प्रदेश प्रमुखकाे कार्यालयका सचिव राजेन्द्र पराजुलीले आह्वान गरेका छन् ।
मधेस प्रदेशसभामा १०७ जना सांसद छन् । सरकार बनाउन बहुमतका लागि ५४ जना सांसदको समर्थन चाहिन्छ । जसमा एमाले २३, नेपाली कांग्रेस २२, जसपा १६, जनमत १३, लोसपा र माओवादी केन्द्र ९-९, एकीकृत समाजवादी ७, नागरिक उन्मुक्ति पार्टी, राप्रपा र नेपाल संघीय समाजवादी १-१ र पाँच जना स्वतन्त्र सांसद छन् ।