
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा ‘प्रचण्ड’ बहुमत प्राप्त गरेका छन् ।
संसदमा विश्वासको मतका लागि मंगलवार भएको मत विभाजनमा पक्षमा २६८ र विपक्षमा जम्मा २ मत प्राप्त भएको हो ।
जम्मा २७० मत खस्दा ५ जना मतदानमा सहभागी भएनन् ।
पशुपति शमशेरले जेष्ठ सदस्यको हैसियतमा बैठक सञ्चालन गरेकाले मत दिन पाएनन् भने कांग्रेसका ४ सांसद बैठकमा उपस्थित थिएनन् ।
अनुपस्थित ४ मध्ये मनाङका टेकबहादुर गुरुङ निलम्बनमा रहेकाले शपथ समेत लिएका छैनन् ।
कांग्रेसकै अन्य सांसदहरू मनोरमा शेरचन, किशोरसिंह राठोर र अम्बिका बस्नेत पनि अनुपस्थितिका कारण मतदान प्रक्रियामा सहभागी थिएनन् ।
१६९ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दाबी गरे पनि अन्तिममा नेपाली कांग्रेस, नेकपा एस र लोसपाले समेत मत दिएका हुन् ।
यससँगै प्राविधिक हिसाबले प्रतिनिधिसभा प्रतिपक्षविहीन जस्तै बनेको छ ।