
धनगढीः नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्रसिँह रावल सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका २९ जना सांसदको समर्थनसहित बुधवार अपराह्न मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । दाबी पेस लगत्तै प्रदेश प्रमुख देवराज जोशीले रावलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
रावलले बिहीवार पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ । सुदूरपश्चिममा नेकपा एमाले र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्ने सहमतीपछि उनी मुख्यमन्त्रीमा चयन भएका हुन् ।
सुदूरपश्चिम प्रदेशमा ५३ जना सांसद छन् । सरकार गठन गर्न २७ सांसद आवश्यक थियो । सत्ता गठबन्धन भित्र एमालेका १० माओवादी केन्द्रका ११ नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसद छन् ।
केन्द्रमा भएको सहमति अनुसार यहाँ माओवादीले दोस्रो चरणमा सरकारको नेतृत्व गर्ने छ भने त्यसपछि माओवादी केन्द्रका नेता खगराज भट्ट मुख्यमन्त्री बन्ने छन् ।
केन्द्रको सहमति अनुसार यहाँ सभामुख माओवादी केन्द्र र उपसभामुख नागरिक उन्मुक्तिको भागमा परेको छ । प्रदेश प्रमुख यही २७ गते पाँच बजेभित्र मुख्यमन्त्री दाबी पेश गर्न समय सीमा दिएका छन् ।