
ढल्केवर, माघ १ ।
धनुषाको मिथिला नगरपालिका २ नक्टाझिजस्थित एभरेष्ट युवा क्लवको २८औं साधारणसभा आइतवार क्लवको प्राङ्गणमा सम्पन्न भएको छ । एभरेष्ट युवा क्लवका अध्यक्ष श्याम कुमार महतोको अध्यक्षता तथा मधेश प्रदेशका निवर्तमान उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतोको प्रमुख आतिथ्य एवं मिथिला नगरपालिका नगर प्रमुख महेन्द्र महतोको विशिष्ट आतिथ्यमा साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभामा शुभकामना मन्तव्य राख्दै वक्ताहरुले क्लवले यस वर्ष क्लव भवनमा संचालन गरेको नागरिक आरोग्य सेवा केन्द्रको प्रशंसा गरेका छन् । साधारणसभामा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि महतोले समाजिक परिवर्तनका लागि युवा क्लव तथा युवाहरु जागरुक हुनुपर्नेमा जोड दिनुभयो । उहाँले साकारात्मक सोंचका साथ समाजप्रतिको आफ्नो दायित्य बुझेर राम्रो कार्यका लागि योजना बनाएर अगाडी बढ्न युवाहरुलाई सुझाव समेत दिनुभयो । समाजिक रुपान्तरणले नै सबै परिवर्तन सम्भव हुने भएकाले समाजमा जनचेतना मूलक कार्यक्रम गर्नुपर्ने आवश्यक रहेको प्रमुख अतिथि महतोले बताउनुभयो ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोले समाजिक कार्यमा लगनशील भएर युवाहरुलाई अग्रसर हुन सुझाव दिनुभयो ।
मन्तव्यकै क्रममा वडाअध्यक्ष विहारी महतोले सीप मूलक तथा जनचेतना मूलक तालिम कार्यक्रम गर्न युवा क्लवलाई आग्रह गर्नुभयो । साधारणसभामा क्लवको आयव्यय तथा क्लवले हालसम्म गरेको कामको प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । सो अवसरमा क्लवले करिव एक दर्जन ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरेको थियो । यस्तै गरिव, जेहेन्दार करिव एक दर्जन विद्यार्थी बालबालिकालाई स्टेशनरी सामग्री प्रदान गरेको क्लवका अध्यक्ष महतोले जानकारी दिनुभयो ।
यसअघि साधारणसभाकै अवसरमा शनिवार एभरेष्ट युवा क्लवले आयोजना गरेको रक्तदान कार्यक्रममा करिव दुई दर्जनभन्दा बढी व्यक्तिले रगत दान गरेको थियो । स्वागतम खबर